अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

तालिबान बिद्रोहीद्वारा अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०० मा प्रकाशित

बिद्रोही संगठन तालिबानले अफगानिस्तानमा तीन दिने युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महान पर्व इद अल–फित्रको अवसरमा तीन दिनका लागि युद्धविराम गर्ने सम्बन्धमा तालिबान अफगान सरकारसँग सहमतिमा पुगेको हो ।आइतबारदेखि सो युद्धविराम लागु भएको छ । पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले सरकारी सेनामाथिको आक्रमण बढाएका थिए । तर इदलाई लक्षित गरेर उनीहरुले अल्पकालीन युद्धविराम गरेका हुन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले युद्धविरामको घोषणाको स्वागत गर्नुभएको छ । आफ्ना सुरक्षाकर्मीले सहमतिका शर्तहरुको पालना गर्ने उहाँले बताउनुभयो ।तीन दिने युद्धविरामलाई दीर्घकालीन शान्ति वा लामो समयदेखि चल्दै आएको युद्ध अन्त्यको प्रस्थान विन्दुका रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

सन् २०१८ मा पनि इदलाई लक्षित गरेर यस्तै युद्धविरामको घोषणा भएको थियो, तर त्यसबेला युद्धविराम लम्बिएको थिएन । मुस्लिमहरुको पवित्र महिना रमजान (रमदान) को अन्त्यपछि मनाइने इद अल–फित्रका लागि युद्धविराम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू