अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

अनुमति

डा. रोशा पोखरेल २०७७ जेठ ७ गते १५:३५ मा प्रकाशित

कविता:
छोएर जरैबाट सिरिङ्ग बनायौ
मेरो मुहार हेरी मुसुक्क मुस्कायौ
देखेर तिमीलाई लाग्यो अचेत छौ
खोइ कुन भुङ्ग्रोको आगो तापेका हौ
खरानी त मेरै वस्त्रमा लेप्दै छौ ।

जागृत भएको मेरो आत्माले सोध्छ
तिमी भित्रको मानव खोइ ? खोज्छ
तिम्रो नवजात शिशुलाई त्यही सब परोस् त
मेरो रोएको आत्माले तिमीलाई कोंस्छ।

अबोध बालिकाको आँखामा देख्छौ कि मलाई ?
तिम्रो कक्षामा आएँ फेरि भने खोज्छौ कि मलाई ?
तिम्रा लम्केका हातलाई यो पाली म रोक्ने छु
कामवशले भरिएका ती आँखालाई म घोच्ने छु
उभिएर सारा सामु यही साहसले छाती फुलाई
तेरो निचताको पर्दा खोल्नेछु ।

तर म थि‌एँ नै एक अबोध बालिका
के भएको त्यो मलाई खै के नै थाहा ।
सारा कक्षा माझ ऊ मेरै सामुन्ने आउँथ्यो
मेरै कुर्सीको सामुन्ने बसी मेरै गुणगान गाउँथ्यो
स्यालको चालसरि मेरो गोडामा हात फिराउँथ्यो
क्षणमै बाघको पन्जा स्किर्ट भित्र पुराउँथ्यो
निचोड्थ्यो मेरो फिल्ला अनि हाँस्थ्यो मुसुक्क
जसरी फ्याउरोले केही पाउँथ्यो
म सरमले निहुरिन्थें, मुटुमा डर पलाउँथ्यो ।

म शायद ८-९ वर्षको थिएँ कि ।
अरू साथीले पनि त्यही विष पिए कि ।
आज सम्झँदा मुटु च्यात्तिएर आउँछ
त्यो शिक्षक अझै त्यसै विद्यालयमा पढाउँछ ।

कठ्याङ्ग्रिन्छ यही कल्पनाले शरीर मेरो
त्यस्तै दुराग्रह निस्कियो भने वरिपरि मेरो छोरीको ?
त्यसैले आज म बोल्ने साहस राख्दछु
हाम्रा छोरीहरूको आँखा खोल्ने साहस राख्दछु
म आज चुप रहे तिमी नि चुप रहौला
सबै मिली आवाज उठाए ती पापीलाई रोकौँला ।

प्रतिक्रिया