अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीको शव विदेशमै अलपत्र

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५६ मा प्रकाशित

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव निरन्तरको लकडाउनका कारण अलपत्र परेको छ। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण ती शवहरु स्वदेश ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले परिवारको अनुमति लिएर विदेशमै दाहसंस्कारको लागि प्रयास भएपनि सहमति पाउनै गाह्रो भइरहेको बताउनुभयो । उहाँका अनुसार लकडाउन भएयता परिवारको सहमति लिएर ६ जनाको मात्र दाहसंस्कार सम्भव छ। यीमध्ये यूएईमा ३, सिसेल्समा १, टर्कीमा १ र दक्षिण कोरियामा १ जनाको दाहसंस्कार गरिएको छ। ८ जना मृतकका परिवारले उतै दाहसंस्कारका लागि सहमति दिएको र दाहसंस्कार गर्ने प्रक्रियामा रहेको जनाइएको छ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा पुगेका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ। यूएईमा २१, साउदी अरबमा ३३, मलेसियामा ३०, कतारमा २६, कुवेतमा ७ तथा दक्षिण कोरिया, बहराइन, साइप्रस र ओमानमा एक एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा छ। बोर्डका कार्यकारी प्रमुख श्रेष्ठले कोरोना भाइरसका कारण हालसम्म वैदेशिक रोजागारीमा रहेका ४ जना नेपालीको ज्यान गएको जानकारी दिनुभयो । त्यसमा यूएईमा २ तथा टर्की र साउदी अरबमा एक एक जना रहेका छन्। चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण विदेशमा रहेका नेपाली आउन सकेका छैनन्।

बोर्डले खाडीका प्रमुख रोजगारदाता देशबाट मात्र तत्काल एक लाखभन्दा बढी कामदार नेपाल आउने स्थितीमा रहेको जनाएको छ। यसमा ४२ हजारभन्दा बढी कामदार करार अवधि सकिएर र बाँकी कामदार अवैधरुपमा बस्नेहरु रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू