अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

कोरोनाले विश्वभर ७८ नेपालीको मृत्यु, करिब साढे ५ हजारमा संक्रमण

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २२:०३ मा प्रकाशित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाटसंसारभर ७८ जना नेपालीको मृत्यु भएको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यसैगरी संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । जसमा न्यूयोर्कमा १२, कोलोराडोमा ४ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिएको एनआरएनको स्वास्थ्य समितिले जनाएको छ । यो हप्ता मात्र थप पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका हुन् ।

यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २ हजारभन्दा बढी संक्रमण मुक्त भएको अनुमान समितिको छ । सापकोटाले विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुदैं गएको पनि बताउनुभयो । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सयभन्दा बढी स्वंसेवकहरु राहत वितरणमा सकृय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू