अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

प्रधानमन्त्रीज्यू जनताले तपाईँलाई सम्मान दिए, अब राजीनामा दिनुस्

रामकुमार शर्मा, केन्द्रीय सदस्य, नेकपा

रामकुमार शर्मा, केन्द्रीय सदस्य, नेकपा २०७६ चैत १४ गते २२:१८ मा प्रकाशित

नेपाली जनताले हाम्रो दुई पार्टीबिचको एकता अनि दुई पार्टीद्वारा जारी भएको संयुक्त घोषणा पत्रप्रति विश्वास गरेर नेपालकै इतिहासमा स्वर्ण अक्षरले लेख्न सकिने गरी दुई तिहाइको अपार समर्थन दिएर नेकपाको नेतृत्वमा सरकार बनाउने मौका दियो ।

जनताले यो मौका कुनै भावनामा बगेर वा लहरमा दिएको होइन । विगत लामो समयदेखि देशमा रहेको अस्थिरता, अराजकता, कुशासन एवं भ्रष्टाचारबाट मुक्तिका लागि एवं नेपाली जनताको सुख, शान्ति र समृद्धिको आशामा मतदान गरेका हुन् ।

सरकार गठन भएको पनि करिब मध्यान्तरको समय पूरा भयो । निश्चित रूपमा नागरिकले अब हाम्रो पार्टीद्वारा जारी गरिएको घोषणा पत्र र सरकारद्वारा भए गरेका कामबारे परिणाममा देख्न पाउने अवस्था हो ।

छातीमा हात राखेर हामी मूल्याङ्कन गरौँ, हाम्रो सरकार कहाँ छ ? हामीले घोषणा गरेका दर्जनौँ महत्त्वाकाङ्क्षी परियोजनाहरू कुन अवस्थामा छ ? जनताको आर्थिक जीवनमा कत्ति प्रगति भएको छ ? नेपाली युवालाई स्वरोजगारको व्यवस्था गरी कति सङ्ख्यामा नेपाल फर्काउन सक्यौँ ? युवा पलायनले सृजना गरेको कृषिको अवस्थामा के परिवर्तन गर्न सक्यौँ ? सुशासनको अवस्था के छ ? भ्रष्टाचारीहरू कति डराएका छन् ? बनिरहेको सडक, पुल, सिँचाइ, विमानस्थल आदि तोकिएको समयमा गुणात्मक किसिमले कत्ति काम भएको छ ?

यी र यस्तै अवस्थाको बिचमा हाम्रो गौरव शाली पार्टीको केन्द्रीय समितिको बैठक एक पटक बस्ने सौभाग्य प्राप्त भयो । बैठकमा व्यक्तिगत रूपमा आफ्नो कुराहरू राख्न नपाए पनि समूहगत रूपमै भए पनि पार्टी र सरकारलाई स्पष्टरुपमा दिशानिर्देश गर्ने काम भएको थियो । बैठक पश्चात् जनताको अपेक्षामा खरो उत्रिने गरी सरकारले तीव्र गतिमा काम बढाउने ठुलो अपेक्षा गरेका थियौँ ।

तर, दुर्भाग्य सरकारले आफ्नो गति बढाउनै लाग्दा कोरोना भाइरस जस्तो विश्वकै महामारीको सिकार हामी नेपाली पनि हुन पुगेका छौँ । मध्यान्तरसम्म प्राप्त अवसरलाई हामी जनअपेक्षा अनुरूप सफलता पूर्वक पूरा गर्न नसकेको तितो यथार्थ हामीसँग छ । यसको मतलब यो होइन कि सरकारले केही पनि गर्न सकेको छैन । सरकारले सङ्घीयतालाई कार्यान्वयन गर्ने, कर्मचारी समायोजन गर्ने, सयौँको सङ्ख्यामा नयाँ कानुन बनाउने, कूटनीति सम्बन्धलाई देश हितमा अगाडि बढाउने, राष्ट्रिय गौरवको कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक सुरक्षा नीति घोषणा र ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएको व्यक्तिहरूको केही सुविधा बढाउने काम अवश्य भएको छ ।

जे होस् यी तमाम समीक्षाको आधारमा यो भन्न सकिन्छ कि सरकारले काम गरेको छ । तर, जनअपेक्षा अनुसार दुई तिहाइको सरकारले जसरी तीव्र गतिमा परिणाम मुखी काम गर्नु पर्थ्यो त्यसमा चुकेकै हो । अब हामी दुर्भाग्य बस नयाँ घटनासहित नयाँ ठाउँमा विशेष अवस्थामा उपस्थित भएका छौँ ।

विगतमा सरकारको कामबाट असन्तुष्ट जनता सामुन्ने नयाँ किसिमको महासङ्कट आइपरेको छ । सरकारलाई यस महासङ्कटबाट जनतालाई सेवा गर्दै मन जित्ने मौका नपाएको होइन । तर, प्रधानमन्त्रीको अस्वस्थताको कारणले भन्नुस् वा सरकार यो महामारीबारे गम्भीर नभएर भन्नुस् सुरुवाती अवस्थादेखि नै संसद्मा विपक्षीहरू, नागरिक समाज वा आमजनता नै सरकारको तयारीबाट सन्तुष्ट देखिँदैन । सरकार यस महामारी रूपी सङ्कटलाई अवसरमा बदल्न सक्थ्यो जसरी भारतका प्रधानमन्त्रीले आफ्नो लोकप्रिय योजनाका कारण कोरोनाभन्दा मोदीको चर्चा बढी भएको छ ।

कोरोना महामारीसँग लड्न जसरी तीनै तहको सरकारसँग समन्वय हुनुपर्थ्यो, तीन वटै सरकारको बिचमा जसरी कामको बाडफाड हुनुपर्थ्यो, जुन गम्भीरताको साथ चिकित्सकहरूको सेवा, सुविधा र सुरक्षाको साथै आवश्यक सङ्ख्यामा ल्याबको व्यवस्था हुनुपर्थ्यो भएन, यति मात्रै होइन विदेशबाट नेपाल आउने नागरिकलाई क्वारेन्टाइन गर्ने, वृहतस्तरमा चेक जाँच गर्ने, रोग लागेकाहरूलाई सुविधाजनक अस्पतालमा उपचार गर्ने, रोगबाट बच्नका लागि आवश्यक मास्क, सेनेटाइजर, ग्लोब्स, आदिको पर्याप्त व्यवस्था गर्ने, महामारीसँग लड्न पर्याप्त रकमको व्यवस्था गर्ने जिम्मेवारीबाट पुनः चुकेको छ । कोरोना जस्तो विश्व महामारीसँगको युद्धको लडाइँमा विजय प्राप्त गर्न ढिलो गरी ५० करोड रकमको विनियोजन गरेबाट नै सरकारको गम्भीरता प्रस्ट हुन्छ ।

तसर्थ, सरकार महामारीसँग खेलबाड नगरौँ, नेपाल र नेपाली जनतासँग मजाक नगरौँ, सकिन्छ भन्ने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भन्ने प्रधानमन्त्रीजी तपाईँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस् । स्वास्थ्य लाभ लिनुहोस् । नेपाली जनताले तपाईँलाई सम्पूर्ण सम्मान दिएकै हो । बाँकी जीवनभरिलाई सम्पूर्ण मान सम्मान र सेवा सुविधा दिने नै छ । राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस् । कम्युनिस्ट आन्दोलनले एक से एक सक्षम नेताको शृङ्खला नै तयार गरेको छ । यसले तपाईँको उचाइ घटाउने नभई ऐतिहासिक बनाउनेछ । हुनसक्छ नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाई परास्त गर्दै सङ्कटलाई अवसरमा बदलेर जनचाहना अनुसारको काम मार्फत देश र जनताको विश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस् । भनिन्छ जान है तो जहान है ।

दैनिक नेपालबाट

प्रतिक्रिया