अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

न्युयोर्कमा दुई नेपाली कोरोना संक्रमित

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:२७ मा प्रकाशित

अमेरिकामा सबैभन्दा बढ्ता प्रभावित क्षेत्र मानिएको न्युयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक संक्रमित भएका हुन् । ज्याक्सन हाइटमा केही वर्षदेखि बस्दै आएका दुई सन्तानका पिता एक साताअघि नियमित ज्वरो आउनुका साथै खोकी लागेपछि क्विन्सको एल्महस्ट अस्पताल भर्ना भएका थिए । शंकापछि उनको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसको पाँच दिनपछि उनी संक्रमित भएको रिपोर्ट आएको हो ।

परिवारका सदस्यले जनाएअनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखिएको छ । कसैलाई प्रत्यक्ष भेट गर्न नदिए पनि अस्पतालले परिवारलाई भने बिरामीको स्थितिबारे नियमित जानकारी दिइरहेको छ । चार सदस्यीय उनको परिवारका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन । परिवारका सबै सदस्य अहिले घरमै छन् । संक्रमित युवक पहिलेदेखि नै मधुमेह पीडित थिए ।

त्यसैगरी अर्का ट्याक्सी चालक पनि उक्त अस्पतालमा उपचाररत छन् । दुई साताअघि ट्याक्सी चलाउन छाडेका उनी एक्कासि ज्वरो आएपछि आफूले नियमित जचाउने चिकित्सक कहाँ पुगेका थिए । mलोअपपछि एन्टिबायोटिक सेवनले झनै थलिएका उनी एल्महस्ट अस्पतालको आकस्मिक कक्षमा गएका थिए । परीक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको परिवारले जनाएको छ ।

तीन साताअघि पहिलोपटक कोरोना भाइरसबाट पीडित देखिएको न्युयोर्क राज्य आइतबारको आँकडासँगै अमेरिकाको सबैभन्दा बढी संक्रमित क्षेत्र बनेको छ । संक्रमितको संख्या १५ हजार नाघेको छ । १ सय १४ जनाको मृत्यु भइसकेको छ । न्युयोर्क राज्यको यो आँकडामध्ये करिब ११ हजार जना न्युयोर्क सहरमा मात्रै संक्रमित छन् । आइतबार जारी गरिएको तथ्यांकअनुसार अहिलेसम्म न्युयोर्क सहरका ४ सय ५० आईसीयू कक्षमा १ हजार ८ सय जना संक्रमितको उपचार भइसकेको छ ।

न्युयोर्क सहरका मेयर बिल दे ब्लासिओले आगामी १० दिनभित्र उपचारका लागि अत्यावश्यक सामान कमी हुन सक्ने चेतावनी दिँदै उचित पहल नभएको भन्दै संघीय सरकारको आलोचना गरेका छन् । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू