अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

’कोरोनाभाइरसलाई येशुले सञ्चो बनाउँछन्’ भन्दै भ्रम छर्ने पाष्टर पोखरामा पक्राउ

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:२४ मा प्रकाशित

पोखराका सुकुम्बासी बस्तीमा येशुले कोरोनाभाइरसको संक्रमणलाई सञ्चो बनाउने भन्दै भ्रामक प्रवचन दिने एक जना क्रिस्चियन धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ। जुम्लाबाट पोखराको पावरहाउसमा घर बनाएर बसाई सरेका ३२ वर्षीय केशवराज आचार्यको कुनै रोजगारी छैन्। क्रिस्चियन धर्म गुरु (पास्टर) आचार्यका २६ हजारभन्दा धेरै सदस्य रहेको युट्युब र फेसबुक पेज छ।

उनीले आफूलाई प्रेरणादायक वक्ताका रुपमा परिचय दिँदै विपतका समयमा मानिस आत्तिएपछि भ्रम छर्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नियन्त्रणमा लिएपछि केशवराजले कोरोनाभाइरसको सन्त्रासमा रहेका पोखराका गरिब बस्तीमा कसरी गलत सूचना दिएर मानिसलाई भ्रमित बनाए भन्ने खुलेको छ।

कास्की प्रहरीका डीएसपी राजकुमार केसीका अनुसार केशवराजले प्रभु येशुले कोरोनाभाइरस खाने भएकाले भक्तहरुलाई संक्रमण नहुने दाबी गरेका थिए। उनले सुकुम्बासी बस्तीमा दिएको प्रवचनमा येशुले कोरोनाभाइरस आफूमा लिने र येशुभक्तहरुमा उनको रगत भएकाले केही नहुने भन्दै धर्म परिवर्तननका लागि समेत सर्वसाधारणलाई उक्साएको जिप्रका कास्कीको आरोप छ।

प्रहरीका अनुसार केशवराज चिप्लेढुङगास्थित प्रशस्त कटनी मण्डलीका पास्टर हुन्। उनले कोभिड–१९ का बिषयमा अफवाह फैलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले उनको खोजी थालेको थियो। उनले भ्रामक प्रवचन गएको साता दिएका थिए। प्रहरीले केशवराज बिरुद्ध मुलुकी अपराध संहिताको दफा ७० अनुसारको कसुर अनुसार अदालतबाट अनुसन्धान म्याद लिएको छ।

यो कसुरमा झुठ्ठा अफबाह फैलाउनेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गरेमा कसुर ठहर हुन्छ।

यसअघि नर्भिक अस्पतालमा कोरोनाले एकजनाको मृत्यु भएको गलत अफवाह फैलाउने विवेक थापा मगरलाई भक्तपुर, सिपाडोलबाट साईवर व्युरोले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ। यस्तै कोरोनाभाइरसका बिषयमा अफवाह फैलाउन भ्रामक पोस्ट गर्ने एकजना युवा र यस्तै गलत सन्देश सहित अडियो तयार गर्ने युवतीको प्रहरीले खोजी गरिरहेको छ। टेकु अस्पतालमा १७ जनाको कोभिड–१९ का मृत्यु भएको भन्ने भिडियो र सेनाले कोभिड–१९ बिरुद्ध हेलिकोप्टरबाट औषधी छर्कने भन्ने सन्देशको अडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। हिमालखबरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू