अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

कोभिड–१९ सङ्क्रमित गायिकाको असावधानीले भारतका दर्जनौँ सांसद ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य

बिआरटीनेपाल २०७६ चैत ८ गते १२:१६ मा प्रकाशित

एजेन्सी, भारतमा एक जना गायिकामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएपछि सांसददेखि पूर्व मुख्यमन्त्री ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपरेको छ । गायिका कनिका कपुरमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बेलायतबाट अघिल्लो साता भारत फर्किनुभएकी कनिका मङ्गलवार भारतको लखनउमा एक सामाजिक समारोहमा सहभागी हुनुभएको थियो । जहाँ उहाँले भारतको राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्ध्या र सांसद दुष्यन्त सिंहसँगै देखिनुभयो । अब कनिका कपुरमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि पूर्व मुख्यमन्त्री सिन्ध्या र सांसद सिंह दुबै जना ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।

‘सेल्फ क्वारेन्टाइन’मा बस्नुअघि सांसद दुष्यन्त सिंह सदनको बैठकमा सक्रिय सहभागी हुनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गर्नुभएको दिवा भोज कार्यक्रममा सहभागी हुनुभयो । भारतीय जनता पार्टीका सांसद सिंहसँग समय बिताएका केही अन्य सांसद पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य भएको द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।

भारतको उत्तर प्रदेश राज्यका स्वास्थ्य मन्त्री जय प्रताप सिंह पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ । उहाँ कनिका कपुर सहभागी सामाजिक समारोहमा सहभागी हुनुभएको थियो ।

त्यसै गरी, सिंह र कपुरको सम्पर्कमा आएका सांसद पङ्कज सिंह, लोक सभा सांसद अनु प्रिया पटेल पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ ।
कनिका कपुर लन्डनबाट मार्च ९ मा मुम्बई अवतरण गर्नुभएको थियो । दुई दिनपछि उहाँ एयर इन्डियाको विमानबाट लखनउ पुग्नुभयो । मुम्बई विमानस्थलमा स्क्रिनिङ्गपछि मात्रै आफूलाई बाहिरिन दिएको गायिका कनिका कपुरले दाबी गर्नुभएको छ ।

स्वस्थ्य अवस्थामा लन्डनबाट फर्केको आफूलाई एक सातापछि मार्च १६ मा मात्रै सङ्क्रमणको लक्षण देखा परेको कपुरको दाबी छ । १८ मार्चमा आफ्नो नमुना उपलब्ध गराउनुभएकी कपुरमा शुक्रवार कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ ।

कपुरको सम्पर्कमा आएका करिब ६८ परिवारमा परीक्षण गरिएको लखनउका प्रमुख स्वास्थ्य अधिकारी नरेन्द्र अग्रवालले जानकारी दिनुभएको छ । कनिका कपुरलाई भने सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युटमा ‘आइसोलेशन’मा राखिएको अग्रवालले बताउनुभयो । भारतको उत्तर प्रदेश राज्य सरकारले कनिकामाथि मुद्दा चलाउने तयारी गरेको छ । गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू