अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

महामारी विरुद्ध ऐक्यबद्ध हुन एनआरएनएलाई काँग्रेस नेता गगन थापाको अपिल

बिआरटीनेपाल २०७६ चैत ७ गते १०:०७ मा प्रकाशित

लन्डन, विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीबार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका बारेमा छलफल भएको सङ्घका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने बताए । थापाले कोरोना भाइरसको सङ्क्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको बताउँदै विश्वभर छरिएका नेपाली एक भएर यो महामारी बिरुद्ध लड्नु पर्ने बताए । थापाले विश्वभर छरिएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को सञ्जालको प्रयोग गरेर विदेशमा सिकेको सिप र ज्ञानलाई समेत नेपालमा भइरहेको महामारी बिरुद्ध लड्न सदुपयोग गर्न सकिने बताए । उनले विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए ।

२ घण्टाभन्दा बढी बैठकमा समय व्यथित गरेका थापाले सङ्घका विश्वभर छिरिएका शाखालाई विदेशमा कोरोना भाइरसबाट कति नेपाली प्रभावित भएका छन् त्यसको तथ्याङ्क सङ्कलन गर्न सुझाव दिए ।

थापा उच्चस्तरीय समितिको सल्लाहकार हुन् । बैठकले १ हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर नेपाल सरकार समक्ष पेस गर्ने निर्णय गरेको छ । सो कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकार समक्ष पेस गर्ने तयारी गैर आवासीय नेपाली सङ्घको छ ।

बैठकमा उच्चस्तरीय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावका बारेमा आफ्ना भनाइ राखेका थिए । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेस्ट (परीक्षण) विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरूप भएको बताउँदै सबैलाई सो परीक्षणप्रति आश्वस्त हुन आग्रह गरेका थिए ।

अध्यक्ष पन्तले कोरोना भाइरसको सङ्क्रमणपछि सङ्घको तर्फबाट भएका कार्यहरूको जानकारी दिएका थिए । पन्तले सङ्घले पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल जान लगाएको रोक व्यवहारिक नभएको जनाए । उनले कोरोना सङ्क्रमणले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाइ भोग्नुपर्ने अवस्था आउन लागेको बताउँदै सम्बन्धित सबै पक्षलाई सहयोगको लागि अपिल गरेका थिए ।

बैठकमा कोरोना भाइरसका कारणले उत्पन्न आर्थिक तथा सामाजिक पक्षलाई पार्न सक्ने कठिनाइमा केन्द्रित रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो । यसअघि सङ्घले हेल्थसम्बन्धी एक उपसमिति मार्फत नेपालमा स्वास्थ्य क्षेत्रमा सेवा दिदैं आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू