अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

नेपालमा कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्ष पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

बिआरटीनेपाल २०७६ चैत ५ गते १३:२८ मा प्रकाशित

लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भाइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन भएको सङ्घका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । सङ्घको आइतबार बसेको पदाधिकारी बैठक निर्णय अनुसार सो उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली काँग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधर रहेका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञसहितको सो समितिका अन्य सदस्यमा डा. सञ्जीव सापकोटा (अमेरिका), डा. डोरन रसाइली (क्यानडा), प्रोफेसर पदम सिम्खडा (युके), डा. रमेशकुमार खोजु (युके), डा. सन्तोष सापकोटा (अमेरिका), डा. सत्यमान राजभण्डारी (युके), डा. कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड), डा. श्रवणकुमार मिश्र (नेपाल), डा. शक्ति चौरसिया (नेपाल), डा. हेमराज शर्मा (युके) र डा. हेमन्त दवाडी (नेपाल) रहेका छन् ।

समितिले नेपाल सरकारसँग सहकार्य गरेर कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सङ्घले नयाँ समिति गठन गरेको अध्यक्ष पन्तले जानकारी दिए । सो समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मूलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तले जनाए ।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलब्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पु-याउनेलगायतका विषयमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।

चीनमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो । सङ्घका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् । सङ्घले यसअघि आफ्ना शाखालाई नोवल कोरोना भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसेको छ ।

३ महिनाका सबै कार्यक्रम रद्द
यसैबिच एनआरएनएले आगामी ३ महिनाभित्रका लागि तय भएका सबै औपचारिक कार्यक्रम रद्द गरेको छ । सङ्घका महासचिव डा. शर्माका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले आगामी ३ महिनाभित्रका लागि तय भएका सबै कार्यक्रम रोक्ने निर्णय गरेको हो । ३ महिनापछि आयोजना हुने कार्यक्रमको आन्तरिक तयारी भने सक्रिय राख्ने निर्णय सङ्घले गरेको छ । सङ्घका आन्तरिक विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय परिषद्को बैठक आगामी २२ मार्चको लागि तय गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू