अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

गैर आवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ माघ १३ गते १२:१९ मा प्रकाशित

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाण्डौंको बालुवाटार स्थित प्रधानमन्त्री निवासमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सोही अवसरमा सङ्घका अध्यक्ष कुमार पन्तले संसद्मा विचाराधीन गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छ्टिै त्यसलाई टुङ्गो लगाइने आश्वासन दिएका थिए ।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैर आवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए । यस्तै गैर आवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न सङ्घले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घको भर्खरै पोखरामा सम्पन्न ७१ औँ बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन् । भेटका क्रममा गैर आवासीय नेपाली समुदायको विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन् । उनी आगामी साता जर्मनी फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू