अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

युक्रेनी विमानमाथि मिसाइल आक्रमणको भिडियो खिच्ने व्यक्ति पक्राउ गरेको इरानको दाबी

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३८ मा प्रकाशित

युक्रेनी विमानमाथि मिसाइल प्रहार भएको घटनाको भिडियो रेकर्ड गर्ने व्यक्तिलाई इरानले पक्राउ गरेको छ । गएको बुधबार बिहान इरानको राजधानी तेहरानबाट युक्रेनको राजधानी किएभका लागि उडेको यात्रु विमान उडान भरेको केही बेरमै दुर्घटनामा परेको थियो ।

सो विमान आफूले प्रहार गरेको मिसाइलका कारण खसेको इरानले स्वीकार गरेको छ । इरानले पहिले सो कुरा अस्वीकार गरेको थियो । इरानी सेनाले गम्भीर मानवीय त्रुटीका कारण यात्रु विमान निशानामा परेको भन्दै माफी मागेको थियो । तर त्यसको विरोधमा इरानमा प्रदर्शन भयो । सुरुमा पश्चिमा राष्ट्र तथा अमेरिकी सञ्चारमाध्यमहरुले इरानी मिसाइलले युक्रेनी विमानलाई निशाना बनाएको भिडियो प्राप्त भएको बताएका थिए ।

इरानले सोही भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको बताएको हो । पक्राउ परेका व्यक्ति विरुद्ध राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्दै आरोप दर्ता गर्ने सम्भावना छ । भिडियो खिचेकै व्यक्ति पक्राउ परेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । तर भिडियो पोस्ट गरेका लण्डनमा बस्दै आएका इरानी पत्रकारले भने आफूलाई भिडियो उपलब्ध गराउने व्यक्ति सुरक्षित रहेको बताएका छन् ।

इरानले गएको बुधबार बिहान इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी मिसाइल प्रहार गरेको थियो । सोही क्रममा १७६ जनासहित उडेको युक्रेनी विमान निशानामा परेको हो । दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको थियो ।

इरानका राष्ट्रपति हसन रुहानीले विमानमाथि भएको आक्रमण सम्बन्धमा अनुसन्धान भइरहेको र त्यसलाई विशेष अदालतले हेरिरहेको बताउनुभएको छ । विश्वले नै सो अदालतको प्रक्रियालाई नियाली रहेको राष्ट्रपतिले बताउनुभयो । विमानमाथि भएको आक्रमण भूलबस र गम्भीर रहेको उहाँले बताउनुभयो । तर यसका लागि कुनै एक व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू