अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

अमेरिकी आक्रमणमा मारिएका सुलेमानीको अन्त्येष्टीमा भागदौड, ४० जनाको मृत्यु, २९३ घाइते

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:२५ मा प्रकाशित

अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा भागदौड मच्चिँदा कमतीमा ४० जनाको मृत्यु भएको छ । भागदौडमा परि कम्तीमा २९३ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानको राजधानी तेहरानमा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको नेतृत्वमा भएको अन्तिम बिदाई प्रार्थनासँगै भएको इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरलको शव यात्रामा लाखौँ मानिस सहभागी भएका थिए। इरानले सुलेमानीको हत्याको ‘कठोर बदला’ लिने बताएको छ । इरानले आइतबार सन् २०१५ मा भएको परमाणु सम्झौताबाट पूर्णरुपमा बाहिरिएको घोषणा पनि गरेका थियो।

६२ वर्षका सुलेमानीको नेतृत्वमा मध्य पूर्वमा इरानको प्रभाव बलियो बन्दै गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकाले गएको शुक्रबार गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गरेका सुलेमानीको मृत्यु भएको थियो।

अमेरिकाले उनलाई आतंककारीको रुपमा लिने गरेको थियो । तर इरानमा भने सुलेमानीलाई राष्ट्रिय नायकका रुपमा सम्मान गरिन्छ । उनलाई सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीपछिका दोस्रो प्रभावशाली व्यक्तिका रुपमा लिने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू