अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

भ्रमण वर्ष २०२० : सातै प्रदेशमा एकैसाथ पर्यटकको स्वागत

बिआरटीनेपाल २०७६ पुष १६ गते २०:४४ मा प्रकाशित

काठमाडौं : सातै प्रदेशमा भ्रमण वर्षको भव्य शुभारम्भ भएको छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ। प्रदेश १ सरकारले हेलिकप्टरबाट पुष्पवृष्टि र हट बेलुनमा भ्रमण वर्षको झण्डा राखेर उडाउँदै भ्रमण वर्षको शुभारम्भ गरेको हो। प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा मुख्यमन्त्री एवं प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिका संरक्षक शेरधन राईले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

कार्यक्रममा विभिन्न जातजाति तथा समुदायहरुको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, एनसीसीएन र नेपाल स्काउटको टोलीले कार्यक्रम स्थलमा कवाज प्रदर्शन गरेको थियो।

प्रदेश सरकारले एक वर्षमा पाँच लाख पर्यटक भित्राउने लक्ष्य लिएको मुख्यमन्त्री राईले बताए। कार्यक्रमको अवसरमा ९ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रूपमा सम्मान गरेको छ।

यस्तै प्रदेश २ मा पनि भ्रमण वर्ष सुरुवात गरिएको हो। यसअघि काठमाडौंबाट जनकपुर आएका पाहुनालाई जनकपुर विमानस्थलमा माला लगाएर स्वागत गरिएको थियो। भ्रमण वर्ष समन्वय समितिले दुधमती पोखरी किनारमा वृक्षारोपण गर्दै पाहुनालाई स्वागत गरेको छ।

प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रीत गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएको प्रदेश समन्वय समितिका संयोजक मनीष झाले बताए।

निःशुल्क उपचार
वीरगन्ज हेल्थ केयर हस्पिटलले भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटक बिरामी परे निःशुल्क औषधि उपचार गरि दिने घोषणा गरेको छ।

भ्रमण वर्ष २०२० को पहिलो दिनमा सिरहाका भारतीय सीमामा पर्यटकलाई स्वागत गरिएको छ। सौराहाबाट सुरुप्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को सुरुवात सौराहाबाट गरेको छ। मुलुककै तेस्रो पर्यटकीय गन्तब्यको रूपमा चिनिएको सौराहाबाट प्रदेश सरकारले भ्रमण वर्षको स्वागत गरेको हो।

बुधबार झाँकीसहितको र्‍याली सौराहाको हात्तिचोकबाट सुरु भएर गैंडाचोकमा सभामा परिणत भएको थियो। प्रदेशका ३ का सभामुख सानुकुमार श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री अरुण नेपालले भ्रमण वर्षको लोगो अंकित बेलुन उडाए।

सिन्धुलीगढीमा दाहाल
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीगढीबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरे। कमलामाई नगरपालिकाद्वारा सिन्धुलीगढीमा आयोजित कार्यक्रममा दाहालले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको शुभारम्भ भएको घोषणा गरे।

मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित सिमभञ्ज्याङमा पर्यटकलाई स्वागत गरेर पर्यटन वर्षको शुभारम्भ गरिएको छ।

गण्डकीले आधा योगदान गर्ने
भ्रमण वर्षमा आफ्नो प्रदेशले मात्रै आधा योगदान गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। प्रदेश राजधानी पोखरामा नेपाल भ्रमण वर्षको सुरुआत गर्दै उनले सरकारबाट राखिएको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न आफ्नो प्रदेशले आधा योगदान गर्ने बताएका हुन्।

मुख्यमन्त्री गुरुङले सरकारबाट भ्रमण वर्ष २०२० घोषणा हुनुअघि नै गण्डकीले छिमेकी देश भ्रमण वर्ष कार्यक्रम घोषणा गरेको स्मरण गरे।

प्रदेश सरकारले आफ्नो प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हिमाल आरोही निर्मल पुर्जा र गायक प्रकाश सपूतलाई सद्भावना दूतसमेत घोषणा गरेको छ। पुर्जाले छोटो अवधिमै संसारका सबै अग्ला हिमाल आरोहणको कीर्तिमानी राखेका छन्।

गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको थियो। यस अवसरमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। गण्डकीले सन् २०२० लाई छिमेकी देशमा पर्यटन प्रवर्द्धन गर्ने र २०२२ मा अन्तर्राष्ट्रिय पर्यटन वर्ष मनाउने योजना बनाएको छ। मुस्ताङमा पर्यटकलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो।

लुम्बिनीमा डेढ प्रतिशतले बृद्धिपर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा डेढ प्रतिशतले बृद्धि भएको छ। लुम्बिनीमा सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटक पुगेका छन्।

लुम्बिनी विकास कोषका अनुसार सन् २०१९ मा सन् २०१८ को भन्दा २४ हजार २ सय १६ जना मात्रै धेरै पर्यटक लुम्बिनी आएका छन्। लुम्बिनीमा भारतीय पर्यटक साढे १२ हजार बृद्धि भएका छन्। लुम्बिनी आउने पर्यटकको संख्या वार्षिक २ लाख नाघेको छ। लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको संख्या तुलनात्मक रुपमा कम बृद्धि भएको छ।

तेस्रो मुलुकबाट गत वर्ष १ लाख ७४ हजार पर्यटक आएका छन्। यो संख्या सन् २०१८ को भन्दा ४ हजार १ सयले बढी हो। तेस्रो मुलुकबाट आउने पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंकाली हुन्।

लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमध्ये करिव ९० प्रतिशत बेलहिया नाका हँुदै आउने गर्छन्। यो नाकाबाट सन् २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ पर्यटक आएका थिए।

भारतीय पर्यटकको प्रवेशद्वार समेत बेलहिया नै हो। लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले श्रीलंकाली पर्यटकको आवागमनमा कमी भएकाले तस्रो मुलुकका पर्यटकको संख्या अपेक्षाकृत बृद्धि नभएको बताए। उनका अनुसार श्रीलंकाली पर्यटकको संख्यामा करिव १२ हजारले कमी आएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा वेलहिया नाका हुदै नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गरिएको छ। लुम्बिनी आउने पहिलो टोलीलाई समेत स्वागत गरिएको छ। कोषका सूचना प्रमुख हरिध्वज राईले चिनीया र भुटानी पर्यटकलाई लुम्बिनीको बारेमा जानकारी गराउदै लुम्बिनीको चिनो प्रदान गरेका थिए।

पाँच नम्बर प्रदेश सरकारले बाँके र बर्दियाबाट भ्रमण वर्षको स्वागत गरेको छ। भ्रमण वर्षको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीको शुभारम्भ गरे। बर्दियाको ठाकुरद्वारा मन्दिर परिसरबाट भ्रमणवर्षको शुभारम्भ समेत मुख्यमन्त्रीले गरेका छन्।

घुमौ कर्णाली
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष शुभारम्भ गरेको हो । भ्रमण बर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो लोगो सहित ‘यसपाली घुमौ कर्णाली’ भन्ने नारा सार्वजनिक गरेको छ।

कर्णाली प्रदेश सरकारले नेपाल भम्रण वर्षलाई सफल पार्न ‘इट्स टाइम फर कर्णाली’ यसपाली घुमौ कर्णाली भन्ने नारा तय गरेको हो । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले ताल परीसरमा आयोजना भएको कार्यक्रमका अवसरमा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू