अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

लुम्बिनीमा ११ महिनामा १४ लाख पर्यटक

लक्ष्मण पौडेल २०७६ मंसिर २८ गते ६:४८ मा प्रकाशित

भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरू अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि उनीहरूको बसाई अवधि भने लम्बिन सकेको छैन ।

बितेको ११ महिनामा लुम्बिनी भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकहरूको सङ्ख्या १४ लाख पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका सूचना अधिकृत हरि ध्वज राईका अनुसार गत वर्षको तुलनामा पर्यटकहरूको सङ्ख्या सामान्य वृद्धि भएको हो ।

सन २०१९ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या १३ लाख ८१ हजार ८ सय ४९ जना पुगेको तथ्याङ्क कोषले सार्वजनिक गरेको छ । जसमध्ये तेस्रो मुलुकका एक लाख ५५ हजार पाँच सय तीन जना पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक १० लाख ४९ हजार ७ सय दुई जनाले लुम्बिनी भ्रमण गरेका छन् भने एक लाख ७६ हजार ६ सय ४४ भारतीय पर्यटक यो अवधिमा लुम्बिनी अवलोकनका लागि आएका छन् ।

यो सङ्ख्या गत वर्षको सोही अवधिमा तुलनामा थोरैले बढी हो । गत वर्ष यही अवधिमा तेस्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ६२ हजार दुई सय ११ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । वर्ष २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकहरूको सङ्ख्या १४ लाख ३३ हजार एक सय १० जना थियो ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूको सङ्ख्या बढे पनि उनीहरूको बसाई अवधि भने लम्बिन सकेको छ । पर्यटकको बसाई छोटो हुँदा पर्यटन व्यवसायबाट अपेक्षित लाभ प्राप्त हुन नसकेको सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रदेश पाँच सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० सँघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षा अनुसार नबढ्दा पर्यटन व्यवसायीमा निराशा बढेको छ ।
तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरूबाट पर्यटकहरू लुम्बिनी आउँछन् ।

लुम्बिनी पुग्ने पर्यटकहरूको सङ्ख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरू भने खासै उत्साहित छैनन् । आगन्तुक मध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्धन योजनामा लुम्बिनी आउने पर्यटकहरूले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो । गोरखापत्र अनलाइनले यो समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू