अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ सुरु

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:११ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ । उहाँमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ । राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आउनुभएको छ । सुनुवाईका क्रममा अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन् । बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर हुनुहुन्छ ।

बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उहाँका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताउनुभएको थियो ।

अमेरिकी डेमोक्र्याटहरूले उहाँ र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोर्होयाउने आशा गरेका छन् । रिपब्लिकन र डेमोक्र्याट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन् । रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कु’ गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन् । संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम सीफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरूबीचको कुराकानी’को संज्ञा दिनुभएको थियो ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो । यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाई गर्नुपर्ने बाध्यता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू