अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

१४ पटक सगरमाथा आरोहण गरेका बेलायती नागरिक भन्छन् – नेपालीबाट हामीले सिक्नुपर्छ

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:२१ मा प्रकाशित

सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्। नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रममा प्रस्तुति दिँदै उनीहरुले जीवनमा एक पटक नेपाल जानैपर्ने बताएका हुन् । १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिस पर्वतारोही केन्टन कुलले पहाडभन्दा पनि नेपाली जनताले आफूलाई सधैं प्रभावित गरेको बताउनुभयो । त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन्। उनले शेर्पा समुदायको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटिस मित्रहरुलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभएको थियो । भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भैसकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मन्त्री भट्टराईले सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले आउँदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राट्रिय विमान स्थलको निर्माण सम्पन्न भैसक्ने र सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताउनुभयो । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटकहरुको संख्या बढिरहेको जानकारी गराउनुभयो । समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा मारियो हार्डीले नेपालबारे प्रस्तुति राख्नुभएको थियो ।

प्रतिक्रिया