अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

राजीनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपति पिनेराको निर्देशन

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:३१ मा प्रकाशित

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजीनामा दिन आफ्नो मन्त्रिमन्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाउनुभएको हो ।

‘आन्दोलनकारीहरुको मागअनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु । त्यसका लागि सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छु’–उहाँले पत्रकारहरुसँग भन्नुभयो । राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उहाँले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै परिवर्तन हुनुपर्छ । हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढंगले निकाल्नुपर्दछ ।”

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाखजनाले राष्ट्रपतिको राजीनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् । अहिले भएको आन्दोलनकाक्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौं घाइते भएका छन् ।

आन्दोलन चर्कंदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिनअगाडि संकटकालको घोषणा गर्नुभएको छ । उहाँले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्तामार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू