अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

बेलायतमा एक लरी कन्टेनरभित्र ३९ वटा शव फेला परे

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:१९ मा प्रकाशित

बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । लरीमा ३८ जना वयस्क र एक किशोरको शव रहेको प्रहरीले जनाएको छ । वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा शव भएको सूचना पाएपछि स्थानीय समयानुसार राति १ः४० तिर एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको बीबीसीले जनाएको छ ।

हत्याको आशंकामा उत्तरी आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ । वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ । एसिक्स प्रहरीले उक्त लरी बुल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको जनाएको छ । एसिक्सका प्रहरी प्रमुख एन्ड्र्यू मरिनरले मृतकको पहिचान गर्ने प्रयास भइरहेपनि समय लाग्ने जनाएका छन् ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटना दुःखद भएको र यसबाट आफू स्तब्ध भएको बताउनुभएको छ । आफुले घटनाबारे निरन्तर जानकारी लिइरहेको र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर काम गर्ने उहाँले जानकारी दिनुभयो ।

सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीको शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला परेको थियो । त्यसबेला त्यहाँ दुई जना जीवितै थिए । हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई कारवाही गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू