अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

इँटा भट्टामा जलाएर हत्या प्रकरण: मुद्दा फिर्ता लिन ‘प्रलोभन’

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते २०:५६ मा प्रकाशित

रौतहट, ६ कात्तिक । मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्री नारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ। ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको छ’, उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैले खसी बाख्रा पालेको थिएँ र ? छोरो जन्माएर पालेको थिएँ हजुर।’

आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। ‘उनलाई जमानत मिल्नु हुँदैन। उनी पक्षधरले हामीलाई मिल्न भनिरहेको छ’, उनले भने, ‘मुद्दा फिर्ता ली नत्र तेरो म्याद छठसम्म मात्र छ भन्छन्। मैले यो कुरा प्रहरीलाई भनेको छु।’

उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असईको कमान्डमा टोली खटाएको छ। प्रहरीले चौबिसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ। ‘मेरो एक मात्र अनुरोध छ, यस्तो जघन्य अपराध गर्नेलाई छोड्नु हुँदैन’, उनले भने, ‘कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

यमुना माई–४ सरुअठाका २२ वर्षीय त्रिलोक प्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते)लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलम विरुद्ध लागेको छ। प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

त्रिलोक प्रतापका बुवा श्री नारायण र ओसीकी आमा रुक्सना खातुनले आलम विरुद्ध २०६५ वैशाख ९ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसमा आलमका भाइ मो. महताब आलमसहित मोबिन आलम, शेख भदई र शेख सवेजको पनि नाम परेको थियो। उनीहरू फरार छन्।

रुक्सनाकोे २०६७ माघ १० मा हत्या भएको थियो। माइतबाट फर्किँदै गर्दा गाउँनजिकै उखुबारीमा कन्चटमा गोली हानेको अवस्थामा उनी मृत भेटिएकी थिइन्। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू