अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

उत्तरी सिरियामा पाँच दिने युद्ध विरामको घोषणा, ट्रम्पद्वारा स्वागत

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:०१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्ध विरामको स्वागत गर्नु भएको छ । उत्तर पूर्वी सिरियामा गत अक्टोबर ९ बाट सुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् । जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकार वादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिएको छ ।

यस आक्रमणका क्रममा अमेरिकी नागरिकको एक थोपा रगत पनि नबगेको भन्दै राष्ट्रपति ट्रम्पले सिरियाका सन्दर्भमा आफ्नो रणनीति सफल भएको बताउनुभयो । यसअघि राष्ट्रपति ट्रम्पले टर्की र कुर्दहरूका लागि यो महान् दिन भएको भन्दै यस आक्रमण स्थगित गर्न सहमति गरेको घोषणाको पनि प्रशंसा गर्नु भएको थियो ।

‘अहिले पाँच दिनका लागि युद्ध विराम भएको छ,’ ट्रम्पले संवाददाताहरूसँग भन्नुभयो । उप राष्ट्रपति माइक पेन्सले अङ्काराले आफ्नो सैनिक कारबाही रोक्न सहमति जनाइसकेको बताउनुभएको छ । तर सम्झौतामा स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकूहरुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने सर्त राखिएको छ ।

अमेरिकाको टेक्सस सहरमा आयोजित निर्वाचन र्र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यो अमेरिकाको लागि महान् दिन भएको पनि दाबी गर्नुभयो । उहाँको भनाई थियो– यो टर्कीका लागि महान् दिन हो, कुर्दहरुको लागि पनि महान् दिन हो र सभ्यताका लागि पनि महान् दिन हो ।

टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उप राष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुग्नुभएको थियो । उहाँले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गर्नु भएको थियो । सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ । त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले चासो व्यक्त गरेको थियो । बुधवार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको बारेमा छलफल भएको थियो । बुधवारको सो बैठकमा सुरक्षा परषदका सदस्य राष्ट्रहरूबिच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।

उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय सङ्कट पैदा भएको भन्दै यसबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताउनुभयो । इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो । उत्तर पूर्वी सिरियाको यस इलाका कुर्दिश लडाकूको नियन्त्रणमा रहेको छ । टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै गरेको छलफलमा उत्तरी सिरियामा यस आक्रमणका कारण मानवीय सङ्कट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको थियो । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू