अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

बेलायतमा नेपाली सेनालाई स्वर्णपदक

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२१ मा प्रकाशित

संयुक्त अधिराज्य बेलायतमा सन्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सन्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्णपदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सन्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेसागत दक्षताको मूल्यांकन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सन्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् । सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर संकलन, घाइते, बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ ।

उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपालसमेत अन्य ३४ देशका गरी कुल १४० सैन्यटोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।प्रतियोगितामा नेपाली सेनाको पेसागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् ।

सन् १९६० बाट वार्षिकरुपमा बेलायतमा सन्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू