अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

श्रीलंकाका राष्ट्रपति पुनः उम्मेदवार नहुने, राजपाक्षको उम्मेदवारी

बिआरटीनेपाल २०७६ असोज १९ गते १९:४० मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष परिवारका दुई सदस्यले उम्मेदवारी दिएका छन्।

श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसोसम्मका लागि तोकिएको समयसीमाभित्र ४१ जनाले उम्मेदवारी दिएको जनाएको छ। उम्मेदवार हुन दर्ता शुल्क समेत बुझाएका राष्ट्रपति सिरिसेनाले अन्तिम समयमा राष्ट्रपति पदका लागि उम्मेदवारी नदिएको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का प्रवक्ताले पनि राष्ट्रपतिले पुनः उम्मेदवारी दिन अस्वीकार गरेको पुष्टी गरेको छ।

गत वर्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदच्यूत गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उहाँ विवादमा तानिनुभएको थियो । तर श्रीलंकाली सर्वोच्च अदालतले सिरिसेनाको कार्यलाई अवैधानिक बताउँदै विक्रमासिंघेलाई नै पुनर्वहाली गर्न आदेश दिएको थियो। राजपाक्षका दुई जना दाजुभाइ गोटाभाया र चमलले उम्मेदवारी दिएका छन्। यस्तै विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका उपनेता सजिथ प्रेमदासाले पनि उम्मेदवारी दिएका छन्।

श्रीलंकाको वर्तमान राजनीतिक परिदृश्यमा मुलुकको पूर्वरक्षामन्त्री समेत रहेका गोटाभाया निकै शक्तिशाली उम्मेदवार मानिएका छन्। तर उनीमाथि धेरैवटा भ्रष्टाचारका आरोपहरूका साथै श्रीलंकाली नागरिक रहेनरहेको बारेमा विवाद छ। उनले सन् २००३ मा लिएको अमेरिकी नागरिकता त्यागेको घोषणा गरेका छन्। तर उनको योग्यतामाथि अझै पनि प्रश्न उब्जिएको छ । त्यहीकारण राजपाक्ष परिवारका तर्फबाट संसदका पूर्वसभामुख समेत रहेका चमललाई पनि उम्मेदवार बनाइएको छ। चुनावका लागि करिब १ करोड ६० लाख जनता मतदाता सूचीमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू