अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

एनआरएनए अध्यक्षमा कुल आचार्यको औपचारिक उम्मेदवारी घोषणा, १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:४४ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभामार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गनुृभएको हो । उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्नुभएको छ ।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने उल्लेख छ । त्यसैगरी वैदेशिक रोजगारलाई मर्या्दित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत उहाँले बताउनुभयो ।

एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशिल संस्था बनाउन आफूले उम्मेदवारी दिएको आचार्यले बताउनुभयो । उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निष्कर्षमा पुर्याउन निर्णायक पहल गर्ने उहाको भनाई छ । आचार्यले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताउनुभयो ।समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा आफ्नो पूर्ण समर्थन रहेको र हाल बेलायतमा बसोबास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोगगर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख गर्नुभएको छ । उहाँले बढीभन्दा बढी मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोर कर मुक्ति सम्झौताहरु गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने आचार्यको भनाई थियो ।

गैरआवासीय संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकको रुपमा काम गरिसकेका उहाँ हाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू