अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

दाँत सेलिब्रेसन: अनुभूति अनेक

डा. मान बिके २०७६ भदौ २७ गते १२:५१ मा प्रकाशित

आज मैले नयाँ दाँत हाले । हुन त मेरा दाँत पहिले देखि नै कमजोर हुन । दुईवटा खाल्टा लामो समय यसै रहे । नक्कली दाँत के राख्ने भनेर हालेको थिइन । तर अप्ठ्यारो भएकोले नक्कली नै भए पनि राख्ने विचार गरे । सक्कली त अब कहाँ पाउनु ! टुटेको दाँत र फाटेको आत फर्काउन सकिँदो रहेनछ ।

सन्जोग पनि कस्तो, दाँत राख्ने दिन भारतले चन्द्र यान २ चन्द्रमामा अवतरण गर्ने दिन परेछ । डाक्टरले दाँत मिलाउँदा पनि मेरो मनमा चन्द्र यान २ चन्द्रमामा अवतरण गरे होला नहोला भन्ने खुल्दुली लागि रह्यो । अगिल्लो दिन आधा रात सम्म चन्द्र यानको जोसिलो लाइभ रिपोर्ट भारतीय च्यानलमा हेरेको थिए । सन् २०६३ देखि निरन्तर लागेको भारत चन्द्र यान २ चन्द्रमामा अवतरणको करिब नजिक रहेको थियो । डाक्टरलाई सोधे यो बलियो त हुन्छ भनेर ? डाक्टरले अव सधैलाई ठिक हुन्छ भन्यो । सायद मेरो उमेरको हेक्का राखेर भने होला भन्ने चिसो पस्यो मनमा। मेरो आमाले अन्तिम दिन तिर बिहान उठेर भन्ने गर्नुहुन्थ्यो “हेर त साने मेरो नाकका फोहोरा ठुला भा छन्, यस्तो हुने छिटै मर्छन् रे!”। आमाले भनेका ती कुरा झट्ट याद आयो। उमेर ढल्दै जाँदा यस्तै यस्तै गन्टनाहरु आउँदो रहेछ सायद ।

दाँत राखेर फर्किदा बबईको शेर्पा होटेलमा नास्ता खान रोकियौ। दाँत राखेको बेग्लै अनुभूति भइरहेको थियो। मेरो दाँतमा रहेका खाल्टा पुरिएका थिए। जिब्रोले पटक पटक नयाँ दाँतलाई सुमसुम्याइरहेको थियो। सायद अरू दाँतसँग मिलेर दन्त्य प्रणालीमा समायोजन हुन सिकाइरहेको थियो। बाहिरबाट आएको कृत्रिम दाँतसँग समायोजन हुन साबिकका दाँतहरूलाई कठिन त पक्कै भए होला। तर विकल्प थिएन; जिब्रोको सहजीकरणमा समायोजन अपरिहार्य छ। त्यसैले आज मलाई सेलिब्रेसन गरी दन्त प्रणालीमा नयाँ दाँत समायोजन गर्न मन लाग्यो। साथमा कोही थिएन, चालक भाइलाई भने। उनले सो अनुसार अलग कोठा माछा र बियरको व्यवस्था मिलाए। चन्द्र यान २ चन्द्रमामा अवतरण त हुन सकेनछ, खिन्न लाग्यो। तर मैले मेरो नयाँ दाँतमा बबईको माछा अवतरण गराए ।

एक्लै थिए तर मानसपटलमा पुराना दिनहरू सलबलाए, विशेष गरी बाले नक्कली दाँत हाल्दाको अवस्था झट्ट दिमागमा आयो। बाले पनि दुई वटा दाँत हाल्नु भएको थियो। त्यति बेला निकालेर सफा गर्न मिल्ने दाँत हुन्थे। बा सधैँ बिहान आँगनमा खरानीले ती दाँतहरू मोल्दै कराउनु हुन्थ्यो ” यति बेलासम्म उठेका छैनन् ……………”। भाइहरू सानै थिए म ठुलो भएकोले मलाई उठ्न कर लागिहाल्थ्यो। बा कराएको पनि मलाई नै हो जस्तो लाग्थ्यो। आँखा मिच्दै म तल ‌ओर्लिन्थे। आमाले भन्न थाल्नु हुन्थ्यो “मेरा दाँत त अहिलेसम्म केही भएकै छैनन्, तेरा बाउका दाँत जे मनलाई खाएर झरी सके। ल पखाल्न पानी लगिदे ।” लोटामा राखिदिएको पानी लिएर म आँगनमा जान्थे। बाले अँगार र खरानीले नक्कली दाँत खुब मोल्नु हुन्थ्यो। मैले बाको धोते अनुहार हेरेर जिस्काउँथे, बा धोते अनुहार मै मुस्कुराउनु हुन्थ्यो। यो दैनिकी जस्तै थियो, बाको यो कुरा मेरो लागि घडीको अलार्म जस्तै हुन्थ्यो। किनकि बिहानै उठी एक डोको मुष्खेरी (घाँस) काटेर मात्रै स्कुल जान पर्थ्यो। स्कुल फेरी दुई घण्टाको उकालो हिँडेर मात्र पुगिने। समयमै नउठे आफैलाई स्कुल पुग्न ढिला हुने। किन किन आज मलाई त्यही आँगन र त्यस्तै परिवेश भएको भए हुन्थ्यो जस्तो लाग्यो। तर मलाई समयले धेरै पर उछिट्टाई सकेको छ, त्यसैमा समायोजन हुन विवश छु म मेरा कृत्रिम दाँत जस्तै।

हुन त मलाई सबैले आमा गोत गएको भन्छन् तर दाँत र हाँसो भने ठ्याक्कै बाको जस्तै रे। नयाँ ठाउँमा पनि मलाई यसैबाट फल्नाको छोरो भनेर ठ्याक्कै चिन्थे। वास्तवमा मेरा दाँत मेरो पुर्खौली पितृ पहिचान बनेको छ। त्यही मध्य दुईवटा कृत्रिम दाँत हालेर आए आज। त्यसको सेलिब्रेसन पनि गरे । अब हेर्नु छ यसले मेरो पुर्खौली पहिचान कायम राख्छ राख्दैन। तर एउटा कुरा पक्का हो जति ढाक्न खोजे पनि यसले मेरो खस्कँदो उमेरको भने उजागर गर्ने नै छ। उमेर खस्कँदै गए पछि त मान्छेको व्यवहार नै फेरिँदो रहिछ; सम्बन्धहरू पातलिँदै जाने, खुम्चिँदै जाने र कतिपय त टुट्ने रहेछन्। आखिर भौतिक आधारमा हुने सम्बन्धहरू लाभ हानी र नाफा नोक्सानको झिनो त्यान्द्रोमा अडेको त हुँदो रहेछ !

कुन बेला टुट्छ थाहै नहुने। यस्ता यान्त्रिक सम्बन्धहरू त्यही कृत्रिम दाँत जस्तै हुँदो रहेछ जति मिलाउन खोजे पनि अलिकत फुस्रो देखिहाल्ने, जिब्रोमा खस्रो लागिहाल्ने। फेरी यस्ता सम्बन्धको पनि एक चक्र हुदोरहेछ। त्यसैले त होला कतिपयको हराभरा जिन्दगी वृद्धाश्रममा गएर टुङ्गिने। त्यस्ता सम्बन्ध मात्रै अजय हुँदो रहेछ जुन आत्मीयताबाट उठेको हुन्छ र अध्यात्मले सिँचेको हुन्छ। तर यस्ता सम्बन्धहरू भेट्न गाह्रो, भेटिए पछि छोड्न गाह्रो किनकि यसमा लाभ हानी वा नाफानोक्सानको कुनै मोलमोलाइ हुँदैन, भौतिक कुराको कुनै गुन्जाइस हुँदैन। हुन्छ त बस आत्मिक विश्वास, भरोसा र त्याग मात्र। यस्तै यस्तै गन्टनाले कहिले हाँसो लाग्ने त कहिले आँखा रसाउने भइरहेको थियो। गाडीमा मीठो गीत बजिरहेको थियो ” आँखा है भरी भरी ‌और तुम मुस्कुराने कि बात करते हो, जिन्दगी खफा खफा ‌और तुम दिल लगाने कि बात करते हो ।” गीत सुन्दासुन्दै भुसुक्कै निदाएको रहेछु। सायद बियर पनि लागे होला। चालक भाइले निवास आयो सर भन्दा पो झसङ्ग भएछु।

प्रतिक्रिया