अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

हङकङका प्रदर्शनकारीले प्रजातन्त्रका लागि अमेरिकासँग सहयोग मागेपछि चीन आक्रोशित

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:४७ मा प्रकाशित

हङकङ चीनको विभाजन नहुने अंश रहेको र विभाजनको पक्षमा हुने कुनै गतिविधि या प्रयास स्वीकार्य नहुने चीनको सरकारी सञ्चार माध्यमले बताएको छ । अमेरिकी वाणिज्य दूतावास अगाडि हङकङमा प्रजातन्त्र बहाली गर्नका लागि सहयोग गर्न अपिल गर्दै प्रदर्शन भएको भोलिपल्ट सोमबार चीनले यस्तो बताएको त्यहाँको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइतबार भएको प्रदर्शनले हङकङमा पछिल्लो समय भएको प्रदर्शनसहितका राजनीतिक गतिविधिमा विदेशी शक्तिको हात रहेको पुष्टि भएको चिनियाँ पत्रिका द चाइना डेलीले उल्लेख गरेको छ । गएको जुनको मध्यमा हङकङमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो ।

हङकङ सरकारले ल्याएको सुपूर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन केही दिनअघिसम्म ठूलो रुपमा जारी थियो । सरकारले सो विधेयक खारेज गरेपछि मात्रै हङकङको अवस्था केही शान्त बन्दै गएको छ । चीनले भने सो प्रदर्शनको पछाडि विदेशी शक्तिको हात (विशेष गरी अमेरिका) भन्दै केन्द्र सरकारले धैर्यता खलबल गराउने प्रयास नगर्न चेतावनी दिएको छ ।

हङकङ सन् १९९७ मा चीनको शासनमा फर्किएको हो । एक देश दुई प्रणाली सिद्धान्त अनुसार त्यहाँको शासन व्यवस्था चल्दै आएको छ । द चाइना डेलीको सम्पादकीयमा भनिएको छ, ‘हङकङ चीनको अविभाज्य क्षेत्र हो र यो नै बटम लाइन हो । यसमा कसैले पनि चुनौति दिन सक्दैन–प्रदर्शनकारीले र फोहोरी खेल खेल्ने विदेशी शक्तिहरुले पनि ।’

हङकङमा भएको प्रदर्शन वा भइरहेका र्याली अधिकार या प्रजातन्त्रका लागि नभई विदेशी शक्तिको दखलको नतिजा रहेको दाबी सम्पादकीयमा गरिएको छ । यस्तै सिन्ह्वाले फरक टिप्पणीमा कानूनी शासन लागु हुनु पर्ने र अहिलेकै अवस्था कायम रहेमा हङकङकले ठूलो मूल्य चुनाउनु पर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू