अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

भारतमा नेपाली मूलका दुई छात्रामाथि दुर्व्यवहार, प्रधानमन्त्री मोदी समक्ष उजुरी

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:०९ मा प्रकाशित

भारतको मध्यप्रदेश राज्यको धार जिल्लामा रहेको एक विद्यालयले दुईजना नेपाली मूलका छात्राहरुलाई विद्यालयबाट निस्कासन गरेपछि विवाद उत्पन्न भएको छ । दुई साताअघिको सो विषयलाई लिएर दुई जना छात्राहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथलाई समेत पत्र पठाएर गुनासो गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार उनीहरुलाई विद्यालयमा ‘नेपाली नेपाली’ भनेर चिढ्याउनुका साथै विद्यालयबाट निस्कासन गरिएको थियो । विद्यालयमा त्यस्तो समस्या उत्पन्न भएपछि उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र नै पठाए । तर, विद्यालयको प्रबन्धनले बालिकाका आमा बाबुलाई समेत अभद्र व्यवहार गरेको समाचामा जनाइएको छ ।

धारको चल्तापूर्जा मानिने एमिनेन्ट पब्लिक स्कुलमा सो घटना भएको हो । सो विद्यालयमा दुई नेपाली बालिका अवनिशा खड्का र अनुष्का खड्का नर्सरीदेखि नै पढ्दै आएका थिए । यद्यपि सो विद्यालयमा उनीहरुप्रति अन्य विद्यार्थी र शिक्षकबाट राम्रो व्यवहार गरिँदैनथ्यो । बालिकाहरुका अनुसार उनीहरुलाई विद्यालयमा नेपाल र नेपाली भनेर बारम्बार चिढ्याउने गरिन्थ्यो । त्यसपछि उनीहरुका मातापिताले विद्यालयका शिक्षकहरुविरुद्ध उजुरी हाले । शिक्षक र अभिभावकबीचको कुराकानी निकै तल झरेर तँ तँ मम सम्म गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसपछि विद्यालयको प्रबन्धनले बालिकाहरुलाई कुरियरबाट पत्र पठाएर निस्कासन गरिएको जानकारी दिएको थियो । समाचारमा जनाइएअनुसार अवनिशा ८ कक्षामा र अनुष्का ५ कक्षामा पढाइ गरिरहेका थिए । यसपछि यी दुई बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर गुहार मागेका हुन् । यस विषयमा उनीहरुका आमा बाबुले बालिकाहरु नेपाली मूलका भएका कारण विद्यालयमा भेदभाव भएको हो । उनीहरुले जिल्ला शिक्षा अधिकारीलाई यो मामिलाको बारेमा पुरै जानकारी दिएर उजुरी हालेका थिए । न्यूज १८ अनलाइन पत्रिकाले यसबारेमा विद्यालयका प्राचार्यसँग कुरा गर्दा उनले छात्राका अभिभावकले नै अभद्रतापूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले छात्राहरुलाई दोस्रो पटक प्रवेश दिने सम्भावनालाई पनि अस्वीकार गरेका छन् । जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले यस्तो मामिलामा बच्चालाई विद्यालयबाट हटाउन नमिल्ने बताउँदै यस मामिलाको जाँच गराउने र छात्राहरुलाई न्याय दिने सो अनलाइनसँगको कुराकानीमा बताएका छन् । उता इन्डिया टुडेको अनलाइन संस्करणले जनाएअनुसार मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथले धार जिल्ला प्रशासनलाई घटनाको पूर्ण रुपमा छानबिन गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ,“मुख्यमन्त्री कमलनाथले सो घटनाको बारेमा कडा मन्तव्य दिँदै ती छात्राले प्रधानमन्त्रीको कार्यालयमा उजुरी हालेको भए पनि उनीहरुको हेरचाह गर्नु मेरो दायित्व हो ।” मुख्यमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै ती दुई बालिकाले कुनै पनि हालतमा विद्यालय छोड्न नपर्ने अवस्था सिर्जना गर्न आग्रह गरेका छन् । “ती छात्राका अभिभावकले विद्यालयका शिक्षकलाई दु्व्यवहार नै गरेको भए पनि त्यसबाट ती बालिका पीडित बन्न नहुने” मुख्यमन्त्रीको कार्यालयबाट जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

“छात्राहरुमाथि कुनै अन्याय हुनुहुँदैन । उनीहरुलाई शिक्षाबाट बञ्चित गर्न मिल्दैन । एकातिर हामीले बेटी बचाओ, बेटी पढाओको नारा दिइरहेका छौं,अर्कोतर्फ यस्ता घटना भइरहेका छन् जहाँ बालिकालाई शिक्षाबाट बञ्चित गराउने काम भइरहेको छ । यो एकदमै प्रश्न उठ्ने विषय हो,” मुख्यमन्त्री कमलनाथलाई उद्धृत गर्दै उनको कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू