अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

बाबाको व्यथा

केशव रुपाखेती, धादिङ

केशव रुपाखेती २०७६ भदौ १५ गते ९:४७ मा प्रकाशित

जन्म दिँदा सन्तानलाई संसार जिते ठानेका थ्यौ
काखमा लिई चुम्बन गर्दा सारा पीडा भुलेका हौ
हुर्के बढे छोडिगए सात समुद्र भन्दा टाढा
बुढेसकालका लट्ठी भन्थ्यौ भए मुटु घोच्ने काँडा।

काख छोडी टुकु टुकु भिड्न लागे जब नानी
राम्रो स्कुल कुनचाहिँ छ बनाउने यसलाई ज्ञानी।
पढी गुनि ज्ञानी भई हटाउनेछन् सबै दुःख
उत्तरार्ध बिताउने अनि मर्ने उनकै काख।।

यस्तै यस्तै सपनाको महल बनाई बसिरह्यौ
उनीहरूको सफलतामा लामो हाँसो हाँसिरह्यौ।
सन्तानको साथ चाहिने बेला तिम्रो जब भयो
जिम्मा लगाई अरूको नै सबै सन्तान टाढा गयो ।

सिङ्गो घरको कुना पट्टी कुँजिएर तिमी बस्दा
धुरीबाट वर्षायामको मुसल धारे पानी खस्दा।।
झस्किरहन्छौ बेलाबेला उसलाई सम्झिएर
तिमीलाई बिर्सिसक्यो उसले रमझममा अल्झिएर।

जब आउँछ चाडपर्व टोलाई बस्छौ आकाश हेर्दै
अतीतलाई सम्झिएर खुईय लामो सास फेर्दै।
कति आए कति गए तिम्रो मुख हेर्ने अौशी
उसैलाई सम्झी रुन्छौ आगनको डिलमा बसी।

टिपी ल्याउने कोही छैन करेसामा बोडी फल्दा
पानी खुवाउने मान्छे छैन बिमारले तिमी ढल्दा।।
चलेका छन् सबै कार्य छिमेकीको सहयोगमा
बसेका छौ रुदै रुदै सन्तानको वियोगमा।।

टोलाएर माथि हेर्छौ आकाशमा जहाज चल्दा
उठाउने कोही छैनन् बेहोस भई तिमी ढल्दा।।
छिमेकीको छोराछोरी आउदाखेरी बाबा भन्दै
तिमी पनि बसेका छौ सन्तान आउने बाटो हेर्दै

हेर्दाहेर्दै अँध्यारोले ढाकी दिन्छ दिनलाई
टोलाएर बस्दा बस्दै बिर्सी जान्छौ खानलाई ।।
यसै गरी बितेका छन् बाबा आमा तिम्रो दिन
फोन गरी कहिलेकाहीँ भनिदिन्छन् आउँछु लिन ,

खुसी हुन्छौ तिमी फेरि सुन्दा उसको छद्म कुरा
मुखले बोल्छ रामराम बगलिमा लिन्छ छुरा।।
आज आउला भोलि आउला भन्दाभन्दै बिते दिन
सन्तान नभै काल मात्रै आउँछ अब तिमीलाई लिन

व्यर्थ रैछ सन्तान हुँदा सुख मिल्छ भनी मान्नु
छोराछोरी भए भने स्वर्ग जान पाइन्छ ठान्नु ।
सानो हुँदा उनकै पिर ठुला भए आफ्नो सुर
भोलि मर्दा भनिदिन्छ म आउँदैन त्यतै पुर।।

प्रतिक्रिया