अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

ब्राजिलले गर्यो जी सेभेनेको प्रस्ताव अस्वीकार, डढेलो निभाउन रकम नलिने

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३८ मा प्रकाशित

अमेजन रेनफरेस्टमा लागेको आगलागी नियन्त्रणमा लिनका लागि जी सेभेन राष्ट्रले प्रस्ताव गरेको सहयोग रकम ब्राजिल सरकारले अस्वीकार गर्ने जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको आतिथ्यतामा भएको जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनमा जी सेभेन राष्ट्रले अमेजन रेनफरेस्टमा लागेको आगो नियन्त्रणका लिनका लागि २२ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

तर ब्राजिल सरकारले सो रकम स्वीकार नगर्ने जनाएको हो । ब्राजिलका अधिकारीले रकम अस्वीकार गर्नुको कुनै पनि कारण दिएका छैनन् । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई आफ्नो उपनिवेश जस्तो व्यवहार गरेको आरोप लगाउनुभएको छ ।

ब्राजिलका रक्षामन्त्री फेर्नान्डो अजेवेडो इ सिल्भाले अमेजनमा लागेको आगो नियन्त्रण बाहिर नरहेको बताउनुभयो । अमेजन रेनफरेस्टमा लागेको डढेलो र वातावरणीय संकटसँग जुध्नका लागि ४४ हजार सैनिक परिचालन गरिएको उहाको भनाई छ ।

जी सेभेनले गरेको प्रस्तावमाथि टिप्पणी गर्दै बोल्सोनारोका चिफ अफ स्टाफ अनयक्स लोरेन्जोनीले भनेका छन्, ‘धन्यबाद, तर त्यो रकम युरोपमा वन बिस्तारका लागि बढी सान्दर्भिक हुन्छ होला ।’ आफ्नो जंगलको सुरक्षा कसरी गर्ने भन्ने कुरा ब्राजिलले विश्वका कुनै पनि देशलाई सिकाउन सक्ने उनले बताएका छन् ।

अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो अत्याधिक मात्रामा लागेको छ । गएको वर्षको तुलनामा झण्डै ८५ प्रतिशत आगलागी बढेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू