अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, विश्वबजार तरंगित

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ । चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभयो । अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुवै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।

यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । चीन र अमेरिकाबीच यसै साता सांघाइमा प्रत्यक्ष व्यापार वार्ता पुनः सुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ ।

चीनले अमेरिकी निर्णयको प्रतिवाद के–कसरी गर्नेछ भन्ने स्पस्ट भएको छैन । तर, चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अतिआवश्यक सामानको निर्यातमा कडाइ गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने संकेत दिएको थियो ।

अमेरिकी पछिल्लो निर्णयसँगै विश्वबजार तरंगित भएको छ ।वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियोसमेतका प्रमुख सेयरबजारहरुमा कारोबार घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू