अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

इन्स्टाग्रामले लाइक संख्या नदेखिने बनायो

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४५ मा प्रकाशित

इन्स्टाग्रामले विभिन्न देशमा प्रयोगकर्ताले पोस्ट भएका तस्बिर तथा भिडियोमा देखिने लाइकको संख्या नदेखिने व्यवस्था गरेको छ । तस्बिर तथा भिडियोमा प्रायः कम लाइक आएमा प्रयोगकर्ताले त्यसलाई हटाउने गरेकाले सो दबाबबाट मुक्त गर्नका लागि लाइकको संख्या लुकाइएको इन्स्टाग्रामले जनाएको छ ।

अस्ट्रेलिया तथा जापानसहितका देशमा इन्स्टाग्राममा पोस्ट भएका तस्बिर तथा भिडियोमा लाइकको संख्या नदेखिने व्यवस्था गरिएको हो । परीक्षणका रुपमा इन्स्टाग्रामले बिहीबारदेखि केही देशमा लाइक संख्या नदेखिने व्यवस्था लागु गरेको हो ।

लाइक गर्नेको संख्या देखिने स्थानमा लाइक गरेका एक प्रयोगकर्ताको नाम तथा ‘एण्ड अदर्स’ देखिन्छ । तर आफ्नो तस्बिर तथा भिडियोमा आएको लाइक संख्या भने पोस्ट गर्नेले हेर्न मिल्छ । विशेषगरी किशोर किशोरी तथा युवावस्थाको सुरुवाति चरणमा रहेकाहरुमा सामाजिक सञ्जालका कारण आत्मविश्वास कम हुने गरेको पछिल्ला अनुसन्धानले देखाएका छन् । यस्तै उनीहरुमा अपर्याप्तताको भाव पनि आउने गरेको छ, विशेष गरी त्यो बेला जब उनीहरुले पोस्ट गरेका सामग्रीमा लाइकको संख्या तुलनात्मक रुपमा कम हुन्छ ।

इन्स्टाग्रामले यसअघि गएको मे महिनामा क्यानडामा पनि लाइक संख्या नदेखिने व्यवस्था गरेको थियो । बिहीबारदेखि इन्स्टाग्रामले अस्ट्रेलिया र जापानसहित न्युजिल्याण्ड, आयरल्याण्ड, इटाली र ब्राजिलमा लाइक संख्या नदेखिने बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू