अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य मन्त्रीपरिषद् बैठकको निर्णय मार्फत स्थगित

बिआरटीनेपाल २०७६ असार २० गते ९:५१ मा प्रकाशित

भारतको तीव्र दबावपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित गरिएको छ । विषादी परीक्षण गर्ने निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्थगित गरेको बताइएको छ । सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले तत्कालका लागि परीक्षण सम्बन्धि निर्णय स्थगित गर्नुपरेको बताएको छ ।

विषादी परीक्षण नगर्न भारतीय दूतावासले लिखित पत्र पठाएको थियो । दूतावसको पत्रपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको बताइएको छ । नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्ण नभएकाले समस्या भएको बताइएको छ । आपूर्ति मन्त्रालयका अनुसार आवश्यक पूर्वाधार निर्माण भएपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जान सक्नेछ ।

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । ३ हप्ता नवित्दै भारतले गम्भीर चासो देखाउँदै दबाव दिएपछि निर्णयबाट नेपाल सरकार पछि हट्नु परेको हो ।

दूतावासको पत्रमा नेपाल सरकारको निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको उल्लेख गरिएको थियो । सरकारको निर्णयले तरकारी तथा फलफूल आयात रोकिदा मुल्य बृद्धि समेत भएको थियो ।

प्रतिक्रिया