अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

लिबिया आक्रमणमा परी एक नेपालीको मृत्यु, ८ जनालाई उद्धार गरी फर्काइयो

बिआरटीनेपाल २०७६ असार १९ गते १०:०० मा प्रकाशित

लिबियाको राजधानी त्रिपोलीस्थित एक बन्दी केन्द्रमा भएको आक्रमणमा १ नेपालीको ज्यान गएको छ । त्यस्तै लिबियामै रहेका ८ नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ। इजिप्टस्थित नेपाली दूतावासलाई आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम) को लिबियाको राजधानी त्रिपोलीस्थित कार्यालयले यसको जानकारी गराएको हो। लिबियाको ताजौरा बन्दी केन्द्रमा भएको आक्रमणमा नेपाली नागरिक सन्तोष श्रेष्ठको ज्यान गएको हो। उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो। आक्रमणमा धेरै आप्रवासी र शरणार्थीको निधन भएको आइओएमले जनाएको छ।

कायरोस्थित नेपाली दूतावासले यसबारे थप जानकारी लिने प्रयास गरिरहेको छ। दुई दिनअघिमात्र आइओएमले उनको ट्राभल डकुमेन्ट पठाउन दूतावाससँग आग्रह गरेको थियो। त्यस्तै लिवियामै रहेका ८ नेपालीलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको पनि दूतावासले जानकारी दिएको छ। उनीहरु बुधबार साँझ ५ बजेको टर्किस एअरलाइन्सको विमानबाट नेपाल फर्केका हुन् । अहिले पनि त्रिपोलीस्थित आइओएमको शिविरमा ६ नेपाली रहेको दूतावासले जानकारी दिएको छ।

पछिल्लो दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरी नेपाल पठाइएको छ । यीमध्ये धेरैजसोलाई लिबिया हुँदै इटाली पठाउन ल्याइएको पनि दूतावासले जानकारी दिएको छ। लिवियामा रहेका नेपाली शान्ति सेनाले यसबारे समन्वय गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू