अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

मोदीको किर्गिस्तान हवाई यात्राको समयाबधि पाकिस्तानले निर्धारण गर्ने

बिआरटीनेपाल २०७६ जेठ २७ गते ९:२२ मा प्रकाशित

भारतका प्रधानमन्त्रीको हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने भन्दा कतिपयलाई यो विषय अपत्यारिलो लाग्न सक्छ तर, वास्तविकता यही नै हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्नेछ । समाचार एजेन्सीहरुका अनुसार मोदीको हवाई यात्रा ८ घण्टा लामो हुने या ४ घण्टाको हुने भन्नेबारे पाकिस्तानले निर्धारण गर्ने भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकमा १३ र १४ जुनमा आयोजना हुने सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ जान लाग्नुभएको हो । उहाँको हवाई मार्ग भने अझै निश्चित हुन सकेको छैन । पाकिस्तानले हाल आफ्नो आकाशमाथि व्यावसायिक उडानमा बन्देज लगाएको छ । पाकिस्तानी आकाश प्रयोग गर्ने ११ हवाई रुटमध्ये दुईवटा रुटमात्र खुला छ । ती दुवै रुट दक्षिण पाकिस्तानतर्फ छन् ।

नयाँ दिल्लीबाट किर्गिस्तान जानका लागि पाकिस्तानले आफ्नो आकाशमाथि लगाएको प्रतिबन्ध खुला नगरेमा मोदी सवार विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ । उक्त बाटो करिब ८ घण्टा लामो हुने जनाइएको छ । पाकिस्ताले मोदी सवार विमानलाई हवाई मार्ग खुला गरेको खण्डमा यात्रा अवधि झण्डै आधा कटौती हुनेछ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाशमार्ग खुला गरिदिएमा करिब ४ घण्टामै उहाँ किर्गिस्तान पुग्नुहुनेछ ।

भारतले पाकिस्तानसमक्ष मोदीको किर्गिस्तान भ्रमणका क्रममा पाकिस्तानी आकाशमाथिको प्रतिबन्ध हटाइदिन आग्रह गरेको जनाइएको छ । पाकिस्तानले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । यसअघि पाकिस्तानले भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराज सवार विमानका लागि किर्गिस्तान जाने बाटो दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू