अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?

‘लाहुरेका नातिको जनयुद्ध यात्रा’

बिआरटीनेपाल २०७५ फागुन ३० गते २३:३० मा प्रकाशित

‘लाहुरेका नातिको जनयुद्ध यात्रा’

काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ । यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो ।

पछिल्लो समय चन्द नेतृत्वको नेकपाले आगजनी र बम विस्फोटका घटना गराइरहेको छ । प्रहरीले केहीदिन अघि विप्लवको गाउँमा छापा मारि केही थान हतियार बरामद गरेको थियो । विप्वल समूहका एक स्थानीय नेतालाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

विप्लव समूहले सैन्य तालिम दिइरहेको तथा हतियार निर्माण गरिरहेको सूचना सुरक्षा निकायमा पुगेको छ । सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहको खोजी तीब्र पारेको छ भने विप्लवका नेता, कार्यकर्ता भूमिगत भएका छन् । कतिपयले विप्लवको नेतृत्वमा देशमा दोस्रो ‘जनयुद्ध’ हुन लागेको भनेर टिप्पणी पनि गरिरहेका छन् ।

आखिर को हुन् त विप्लव ? हामीले यहाँ विप्लवका बारेमा हालसम्म प्राप्त जानकारी प्रस्तुत गर्ने जर्मको गरेका छौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाको केवरीमा मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा जन्मिएका थिए । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । विप्लवका बाजेका सात भाइमध्ये छ भाइ लाहुरे थिए ।

विप्लवको बाल्यकाल रोल्पामै बित्यो। उनले लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू उनी बाल्यकालमा लाहुरेसँग लडाइँको कुरा गर्न मन पराउँथें । विप्लवमा विद्यालय तहमा पढ्दादेखि नै राजनीति चेत थियो ।

उनले २०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू गरेका थिए । त्यसको ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए भने त्यही वर्ष उनले एसएलसी पास गरेका हुन् । लगत्तै उनी पढ्न काठमाडौं आए । नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । विप्लवले २०४८ सालमा स्नातक तेस्रो वर्षमा भर्ना हुन पाएनन् । त्यतिबेला एकता केन्द्र मसालको सदस्य बनिसकेका विप्लव सक्रिय राजनीतिमा अघि बढे ।

यसबीच २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्न पुग्यो । विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् ।

विप्लवको नाममा कपिलवस्तुमा रहेको जमिन पनि पार्टीको नाममा बुझाएका थिए । विप्लवले कहिल्यै जागिर खाएनन् ।

माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी उपाध्यक्ष थिए । त्यस बेला जनयुद्ध थालनी गर्न पार्टी नेतृत्व डराएको भन्दै विप्लवले भनेका थिए–बुढाहरूले छिटो जनयुद्ध सुरू नगर्ने हो भने हामी सुरू गर्छौं । जनयुद्ध लड्न उनले हतियारसमेत जम्मा गर्न थालेका थिए ।

तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो ।

विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे । २०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए ।

कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए । त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए ।

कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे ।

माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध बिग्रियो । पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए । दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो ।

२०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे । त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए ।

विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए । त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लागे ।

वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव छन् । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै लाभको पदमा छैनन् ।

विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागिपरेका छन् । विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला पूर्वसहयोद्धा विप्लव फेरि भूमिगत छन् । हिजो एउटै थालीमा खाएका विप्लव र बादल अहिले एकअर्कालाई ‘शत्रु’मा रुपमा परिभाषित गरिहेका छन् । दैनिक नेपालबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू