अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:२२ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

लाभरोभले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गर्नुभएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिनुभएको बुझिएको छ । उक्त कुराको जानकारी रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ । रुसी विदेशमन्त्री लाभरोभले उक्त फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तरराष्ट्रिय कानुन उल्लङ्घनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिनुभयो ।

गत महिना विपक्षी नेता गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले हुवाँ गुएइदोलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको गुईदोको दाबी छ । तरपनि त्यहाँका राष्ट्रपति निकोलस मडुरोले आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँदै आउनुभएको छ ।

भेनेजुयलामा विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मडुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन् । उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका छन् । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका छन् । तरपनि राष्ट्रपति मडुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउदै आउनुभएको छ । विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान कमै मात्र गरिएको छ ।

भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ र उता गुएइदोले भने राष्ट्रपति मडुरोलाई अवैध दाबी गर्दै आउनुभएको छ । उहाँले गत महिनामात्र आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गर्नुभएको थियो । गुईदोको यो कदमलाई अमेरिका र अरु केही विदेशीले समर्थन गरेपछि भेनेजुयलामा सङ्कट बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू