अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने खतरा

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:४४ मा प्रकाशित

यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा र्पुयाउन समस्या आएका कारण कुहिने अवस्था आएको हो ।

यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे पनि पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन नसकिएकाले कुहिने अवस्थामा पुगेको बताउनुभयो ।

डब्लुएफपीले पठाएको खाद्यान्न यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा राखिएको छ । तर त्यो सामग्री सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ । विशेषदूत मार्टिनले युद्ध प्रभावित क्षेत्रका नागरिकलाई खाद्यान्न र्पुयाउन नसक्नु दुःखद भन्दै चिन्ता व्यक्त गरे । उनले खाद्यान्न सहयोगका लागि लक्षित समुदायमा र्पुयाउने काम यमनमा द्वन्द्वरत पक्षहरुकै भएको बताउनुभएको छ ।

राष्ट्रसंघले विश्वकै भयावह स्थिति देखेको यमनमा भएको द्वन्द्वका कारण करिब एक करोड यमनी खाद्यान्न अभावबाट गुज्रिरहेका छन् । उनीहरूले चरम खाद्यान्न अभावको सामना गरिरहेका छन् । तर खाद्यान्न कुहिने अवस्थामा पुग्नु थप चिन्ताको विषय बनेको छ । राष्ट्रसंघ सहयोग कार्यक्रम प्रमुख मार्क लकक तथा यमनका लागि राष्ट्रसंघीय विशेष दूतले संयुक्त विज्ञप्ति जारी गरी सहयोग आपूर्ति गर्न विद्रोहीलाई बाटो खोलिदिन आग्रह गरेका छन् ।

यमनमा सरकारी पक्ष र हुथी विद्रोहीबीच सन् २०१५ देखि संघर्ष हुँदै आएको छ । द्वन्द्वका क्रममा अहिलेसम्म करिब १० हजार मानिसको मृत्यु भइसकेको विश्व खाद्य संगठनको तथ्यांक छ । तर, अधिकारवादी समूहले द्वन्द्वका कारण मृत्यु हुनेको संख्या अत्यधिक रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू