अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:३३ मा प्रकाशित

अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रह समेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उहाँका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताउनुभयो ।

तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् । अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

अमेरिकी वित्तमन्त्री स्टिवेन मनुसिनले अब भेनेजुएलाको तेल बिक्रीको पैसा मादुरोको सरकारसम्म नपुग्ने बताउनुभयो । उहाँले तेल कम्पनीले खुआन गोइदोलाई नेता मानेर प्रतिबन्धबाट बच्नसक्नेसमेत बताउनुभयो । उहाँले अमेरकास्थित सहायक कम्पनी सिटगोले आफ्नो काम जारी राख्ने तर त्यसका लागि अमेरिकाकै सुरक्षित खातामा पैसा जम्मा गर्नुपर्ने बताउनुभयो । भेनेजुएला आफ्नो तेलको बिक्रीमा अमेरिकामा निर्भर छ । भेनेजुएलामा उत्पादित ४१ प्रतिशत तेल अमेरिकामा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू