अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

हवाई मार्ग र भारु समस्या समाधानमा भारत सकारात्मक

बिआरटीनेपाल २०७५ पुष २६ गते १९:४३ मा प्रकाशित

नेपालले थप अन्तर्राष्ट्रिय हवाई मार्ग र भारु सटहीसहितका लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मध्याहन नयाँदिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको करिब एक घण्टा लामो ‘लन्च भेट’ मा त्यस्तो आग्रह गरेका हुन् । नेपालको आग्रहलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको मन्त्री ज्ञवालीले  बताए ।

हवाई मार्गका विषयमा नेपालको चासोलाई भारतीय पक्षले सकारात्मक जवाफ दिएको ज्ञवालीले बताए । मन्त्री स्वराजले यसबारे भारतीय पक्षले प्राविधिक अध्ययन गरिरहेको र केही प्राविधिक समस्याका बारेमा नेपाली पक्षलाई समेत जानकारी गराएको बताएकी थिइन् । हवाई मार्गका विषयलाई समाधान गर्न सकिने र त्यसका विभिन्न विकल्पमा भारत सरकारले सोचिरहेको जवाफ स्वराजले दिएको स्रोतले बताएको छ । बैठकमा नेपाली पक्षले भैरहवा क्षेत्रीय विमानस्थल आगामी जुनमा सम्पन्न भई केही महिनाभित्रै सञ्चालनमा ल्याउने योजना रहेको र सन् २०२० मा नेपाल भ्रमण वर्ष पनि मनाउन लागिएको सन्दर्भमा अतिरिक्त हवाई प्रवेश विन्दु महत्त्वपूर्ण रहेकामा जोड दिएको थियो । हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा भने भारतीय पक्षले कुनै निश्चित समयसीमा भने नतोकेको स्रोतको भनाइ छ ।

भारु सटही सम्बन्धमा नेपाली पक्षले राखेको चासोमा मन्त्री स्वराजले दुई देशका केन्द्रीय बैंकबीच छलफल अगाडि बढेको र चाँडै नै सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरेकी थिइन् । नेपाल सरकारले एक सयभन्दा माथि दरका भारु नोट प्रयोगमा प्रतिबन्ध लगाउनेसम्बन्धी हालै गरेको निर्णयका बारेमा भारतीय पक्षले चासो व्यक्त गरेको थियो । त्यसको जवाफमा नेपाली पक्षले भारतले प्रचलनमा ल्याएका नयाँ नोट प्रयोगमा ल्याउँदा विगतको जस्तो समस्या भविष्यमा नआओस् भन्नेमा विश्वस्त हुन खोजेको बताएको थियो ।

‘भेट सकारात्मक रह्यो । हामीले आफ्ना भनाइ राख्यौं र भारतीय पक्षले त्यसलाई सकारात्मक रूपमा लिएको पाएँ,’ ज्ञवालीले भने, ‘पछिल्लो समयमा भइरहेको सहकार्य र त्यसले लिएको गति पनि सन्तोषजनक रहेको बैठकको निष्कर्ष रह्यो ।’ स्वराजसँगको छलफल मूलत: नेपाल र भारतबीचको समन्वयमा अगाडि बढिरहेका विकास परियोजनाको शीघ्र कार्यान्वयनमै केन्द्रित रहेको ज्ञवालीले बताए । एक वर्षमा दुई देशबीच भएका उच्चस्तरीय भ्रमणले आपसी सम्बन्ध थप सुदृढ पार्न सकारात्मक भूमिका खेलेकामा दुवै पक्षले सन्तोष व्यक्त गरेको समेत उनले बताए ।

भेटमा नेपालले टनकपुर लिंक रोडलगायतका वर्षौंदेखि थाती रहेका आयोजना शीघ्र कार्यान्वयनका लागि पनि भारतलाई आग्रह गरेको थियो । विद्युत् व्यापारसम्बन्धी निर्देशिका परिमार्जन तथा इनर्जी बैंकिङ सम्बन्धमा हालै भएको सहमतिका लागि आफूले भारत सरकारलाई धन्यवाद दिएको ज्ञवालीले बताए । भारतले दुई साताअघि विद्युत् व्यापारसम्बन्धी निर्देशिका परिमार्जन गरेको थियो । दुई वर्षअघि भारतद्वारा जारी निर्देशिकाले नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानी निरुत्साहित गरेको भन्दै परिमार्जनका लागि नेपाली पक्षले आग्रह गरेको थियो । पछिल्लो परिमार्जनपछि नेपाल र भारतबीच बिजुली पनि अन्य वस्तुसरह व्यापार गर्न मार्गप्रशस्त भएको छ । त्यसैगरी डुबान समस्याको प्राविधिक अध्ययन र त्यसले दिएको सुझाव कार्यान्वयनमा पनि दुई देश सहमत भएका छन् । आन्तरिक जलमार्गका सम्बन्धमा भइरहेको प्रगतिका बारेमा पनि नेपाली पक्षले भारतलाई धन्यवाद दिएको थियो ।

दुई देशबीच रहेका विभिन्न विषयगत संयन्त्र पछिल्लो समय सक्रिय भएकामा सन्तुष्टि व्यक्त गरिएको थियो । विशेषगरी दुई देशका परराष्ट्र सचिवबीच आवधिक रूपमा हुँदै आएको भिडियो कन्फरेन्स निकै प्रभावकारी भएको निष्कर्ष पनि बैठकले निकालेको छ । छिट्टै दुवै देशका परराष्ट्र मन्त्रीले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक राख्न पनि दुवै पक्ष सहमत भएका छन् । बैठकको मिति निर्धारण नभए पनि यथासम्भव छिटो गर्न समझदारी बनेको मन्त्री ज्ञवालीले कान्तिपुरलाई बताए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू