अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

नेपाली नागरिक सरह नागरिकता दिन एनआरएनएको माग

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:५० मा प्रकाशित

आफुहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले माग गरेको छ । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यस्तो माग गर्नुभएको हो ।

उहाँले राष्ट्र निर्माण गर्ने अभियानमा आफूहरुलाई पनि सहभागी गराउन गैरआवासीय नेपाली नागरिकलाई पनि नेपाली नागरिक सरह नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । विद्यमान कानुनमा गैर आवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार कटौति गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

त्यसमा सरकारप्रति आभार व्यक्त गर्दै संस्थापक अध्यक्ष महतोले राजनीतिक अधिकार पनि समावेश गर्न सरकारसँग माग गर्नुभयो । उहाँले गैर आवासीय नेपाली राष्ट्र निर्माणको अभियानमा प्रतिवद्ध रहेको पनि समितिलाई जानकारी गराउनुभयो । एनआरएनका अध्यक्ष भवन भट्टले पनि गैर आवासीय नेपाली नेपाललाई समृद्ध बनाउन प्रतिबद्ध रहेकोे उल्लेख गर्दै त्यसमा शंका नगर्न समितिका सदस्यलाई आग्रह गर्नुभएको थियो । उहाँले नेपालको समृद्धिको अभियानमा गैरआवासीय नेपाली सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विधेयकमा गैर आवासीय नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हुने गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू