अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

नवनियुक्त मन्त्रीको हातमा सपथपत्र, अक्षर नचिन्दा पढ्न समस्या !

बिआरटीनेपाल २०७५ पुष ११ गते ६:४२ मा प्रकाशित

भारतको छत्तीसगढ राज्यमा भूपेश बघेलको नेतृत्वमा सरकार गठन भएको छ । हालै सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसले जित हासिल गरेपछि बघेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो । बघेलले मंगलबार मन्त्रिमण्डल गठन गरे । ९ सदस्यीय मन्त्रिमण्डलले मंगलबार सपथ लिएको छ ।

सपथग्रहण समारोहमा कवासी लखमाको नाम लिएर सपथका लागि जब मञ्चमा बोलाइयो, एउटा निरन्तरताको क्रमभंग भयो । भारतमा केन्द्रीय मन्त्रीको हकमा राष्ट्रपतिले र राज्यको मन्त्रीका हकमा राज्यपालले सपथको सुरुवाती शब्द पढेपछि बाँकी अंश सम्बन्धित मन्त्री आफैंले सपथपत्र पढेर पुरा गर्नुपर्ने परम्परा छ । तर, लखमा अशिक्षित भएका कारण उनले सपथपत्र पढ्न सकेनन् ।

भारतीय संचारमाध्यमका अनुसार बघेल सरकारमा लखमा एकमात्र यस्ता मन्त्री हुन्, जसले अक्षर नै चिन्दैनन् । पिछडिएको समुदायका उनले औपचारिक शिक्षा लिएका छैनन् । किसान परिवारका सदस्य उनी छत्तीसगढ राज्य गठन भएयता लगातार चुनाव जित्दै आएका छन् ।

राज्यपाल आनन्दी बेन पटेलले सपथका एक–एक शब्द आफैंले पढेर लखमालाई दोहोर्‍याउन लगाउँदै सपथ दिलाएकी थिइन् । यस क्रममा पनि लखमाले केही शब्द राम्ररी उच्चारण गर्न जानेनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू