अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

चीनको आर्थिक विकासको मार्गलाई कसैले होच्याउन सक्दैन – राष्ट्रपति सी

बिआरटीनेपाल २०७५ पुष ३ गते ७:२५ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासको मार्गकाबारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो ।
चिनियाँ ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हालको एकदलीय राजनीतिक प्रणालीबाट विचलित नहुने र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम नगर्ने बताउनुभयो ।

‘समाजवादको झन्डा चिनियाँ भूमिमा अझै उचाइका साथ सदैव फर्फराइरहनेछ’–राष्ट्रपति सीले भन्नुभयोे–‘चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।’
चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नुपरिरहेको छ । दुवै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।

संयुक्तराज्य अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ ‘चीन कुनैपनि मुलुकका लागि चुनौती होइन । तर, यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ । चिनियाँ जनताले के गर्नुपर्दछ वा के गर्नुहुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।’ ‘हामीले गर्नसकिने सुधारका कार्यहरुलाई निरन्तरता दिनै पर्दछ । तर, कतिपय काम हामी गर्न सक्दैनौं । त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ’–राष्ट्रपति सीले चेतावनीयुक्त भाषामा भन्नुभयो ।

राष्ट्रपति सीले बढीभन्दा बढी सुधारकाबारेमा चीन तयार रहेको बताएपनि कुनै ठोस योजना भने घोषणा गर्नुभएन । संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । तर, उनीहरुले चिनियाँ कम्पनीहरुले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन् ।देङको खुला नीतिले करोडौं चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुककारुपमा उभ्याएको छ । तर, पछिल्ला वर्षहरुमा चीनको ऋण बढ्दोक्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ । गत वर्ष ६.९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६.५ प्रतिशतमा छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरुले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए । मंगलबार ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो ।

विभूषित हुनेहरुमा ग्रामीण क्षेत्रमा कार्यरत् व्यक्तिदेखि चीनका सर्वा्धिक धनी व्यक्ति अलिबाबाका संस्थापक ज्याक मा, एनबीए खेलाडी याओ मिङसमेत छन् । खुलापनका पिताकारुपमा चिनिने देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गरेका थिए । यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमुनाकारुपमा स्थापित भएको थियो ।

सेन्जेन हाल विश्वव्यापी प्रविधि केन्द्रकारुपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् । ४० वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू