अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

आर्थिक अनियमितताको आरोपमा जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:२१ मा प्रकाशित

जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ पर्नुभएको छ । प्रसिद्ध व्यवसायी गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो । रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीको सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको भेटिएकाले उहाँलाई पक्राउ गरेर हिरासतमा राखिएको जनाईएको छ । निशानका प्रमुख कार्यकारी हिरोटो साइकावाले पत्रकार सम्मेलन गरी पक्राउ परेका गोनमाथि प्रहरीले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

कम्पनीको बोर्ड बैठकमा गोनको बर्खास्तीका लागि प्रस्ताव लगिने उहाँले बताउनुभयो । गोनले आर्थिक अनियमितता गरिरहेको सूचना पाएपछि निशान कम्पनीका लेखापरीक्षकहरुले छानबिन थालेको अधिकारीहरुले बताएका छन् । उनीमाथि लागेका थप अभियोगबारे भने निशानले कुनै जानकारी दिएको छैन । ब्राजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निशान तथा रेनो कम्पनीहरूलाई झन्डै टाट पल्टिनबाट जोगाउन सफल हुनुभएको थियो । जापानी सञ्चारमाध्यमहरुका अनुसार गोनले सन् २०११ यता पाँच अर्ब जापानी येन अर्थात् ४ करोड ४० लाख अमेरिकी डलर बराबरको रकमबारे पूर्ण जानकारी नदिएको दाबी गरेका छन् ।

अर्का वरिष्ठ कार्यकारी ग्रेग केली पनि अनियमितासम्बन्धी कार्यमा संलग्न रहेको हुनसक्ने निशान कम्पनीले जनाएको छ । उहाँलाई पनि बर्खास्त गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू