अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

अमेरिकाको सिकागोमा रहेको मर्सि अस्पतालमा गोलाबारी,चिकित्सक सहित ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १६:१० मा प्रकाशित

अमेरिकाको सिकागोस्थित मर्सि अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । गोली काण्डमा अस्पतालका चिकित्सक सहित ४ जनाको ज्यान गएको छ । अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा सो हताहती भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको समाचारमा उल्लेख छ । प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ । ज्यान गुमाउने दुई महिला मध्ये एक जना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले जानकारी दिनुभयो ।

घटनामा परी एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । आक्रमणकारीले आफ्नो प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ । तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौं राउन्ड गोली चलाइएको थियो ।

अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू