अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

२७ बुँदे घोषणापत्र जारी गर्दै कोलम्बो प्रोसेस मन्त्रीस्तरीय बैठक सम्पन्न, श्रमिकका जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा नेपालको जोड

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:०२ मा प्रकाशित

आप्रवासी कामदारको सुरक्षा र अधिकारको लागि एकआपसमा सहकार्य गर्ने प्रतिबद्धता सहित २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एसियाका १२ देशहरुको साझा संस्था कोलेम्बो प्रोसेसको बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । । सम्पन्न ५ औं सचिवस्तरीय र छैठौ मन्त्रीस्तरीय परामर्श बैठकले कामदारको स्वास्थ्य सुरक्षा, अभिमुखीकरण तालिम, स्वस्थ्य भर्ना प्रक्रिया, अलपत्र कामदारको समन्वय गरी उद्धार, बिप्रेषण पठाउदा लाग्ने लागतमा कमी ल्याउनेलगायत विषयमा सहकार्य गर्ने निर्णय गरेको छ ।

नेपालले ‘कोलम्बो प्रोसेस’को उद्देश्य हासिल गर्न सदस्य मुलुकले संयुक्त नेतृत्व र साझा जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको छ । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा समेत जोड दिएको छ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो ।

शुक्रबार काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशियाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन गर्दै सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिने कामदारहरुको सुरक्षाको पक्षमा दृढतापूर्वक अभिन पनि सो मन्त्रीस्तरीय परामर्श बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई ठगिन नदिन बैठकले ठोस धारणा तय गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रूपमा रहेको ‘कोलम्बो प्रोसेस’ को आज छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकको अध्यक्षता गर्दै नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले प्रोसेसको भावना र उद्देश्यअनुरूप गन्तव्य मुलुकसँग नेपालले समझदारी गर्ने प्रयास अघि बढाएको बताउनुभयो । मन्त्री बिष्टले आगामी दिनमा यस्ता प्रयासलाई अझ उन्नत र तीव्रस्तरमा लैजाने दृढतासमेत व्यक्त गर्नुभएको छ ।

विगतको समीक्षा गर्दै आगामी मार्गचित्र तय गर्नुपर्ने अवस्था सिर्जित भएको उल्लेख गर्दै उहाँले साझा उद्देश्यप्रतिको प्रतिबद्धताबाट नै सशक्त क्षेत्रीय परामर्श संयन्त्रका रूपमा प्रोसेसले आफ्नो पहिचान बनाउन र वैदेशिक रोजगारीमा जाने श्रमिकका जीवनस्तरमा सुधार ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री विष्टले प्रोसेसको सदस्यका रूपमा नेपालले हासिल गरेका साझा अनुभवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्ने सामथ्र्य बढाएको बताउनुभएको छ ।
कोलम्बो मन्त्रीस्तरीय परामर्श बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, श्रीलंका, भियतनाम, इन्डोनेशिया, कम्बोडिया, अफगानिस्तान र चीनको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू