अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नवीन पौडेल २०७५ कार्तिक २९ गते ९:३५ मा प्रकाशित

नेपालबाट दिनहुँ बिदेशीनेको सङ्ख्या बढ्दो छ । विदेश जाँदा एयरपोर्ट सम्म छोड्न जाने बाबुआमा, लिन एयरपोर्ट जान नसकेका धेरै घटना छन् ।

आज बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट पुगियो तर अचम्म लाग्दो थियो एयरपोर्ट । एयरपोर्ट त कतै मेलामहोत्सवमा गएजस्तै लाग्दो थियो । म एअरपोर्टको अप्रेसन / वायुसेवा भवन अगाडि उभिरहेको थिए । त्यो भिड देख्दा एक्छिन हेरिरहु जस्तै लाग्यो, एक्छिन जताततै निहाले कोही गाडीबाट सामान झार्दै छन्, कोही अङ्गालो मार्दै रुदै त कोही पिडा लुकाउन खोज्दै । त्यो भिड अनि त्यही भिडमा हराइरहेको म: स्तब्ध थिए । मेरा आँखा रसाइरहेका थिए । मेरो हेर्ने भन्दा अर्को कुनै विकल्प थिएन । विभिन्न देशमा रहनु भएका दाजुभाइहरू नेपालीहरूका महान् चाडको अवसर परेर नेपाल पाल्नु भएको र फर्किने क्रमले गर्दा यस्तो अचाक्ली भिड भएको होला भन्ने अनुमान गरे ।

एयरपोर्ट पुग्नुको कारण एअरपोर्टको अवस्था हेरेर त्यो भिडमा हराउनु थिएन । म आफ्नो काममा लागे,विडम्बना मेरो काम पनि त्यहीँ विदेश जाने आउने दु:ख सँगै जोडिएको थियो । घरको आर्थिक अवस्था सुधार्न विदेश पलायन भएका केही दाजुभाइहरू सकुशल होइन कि; काठको बाकसमा लास बनेर आएका छन्, हो म पनि त्यही एउटा लासको प्रतीक्षामा बस्नुभएका केही आफन्तलाई भेट्न गएको थिए । ११:२० मा हवाईजहाज अवतरण भयो भनेर त्यहाँ राखिएको डिजिटल बोर्डमा देखायो । लास लिनका निम्ति विभिन्न प्रकिया पूरा गर्नु पर्ने रहेछ । तिनै प्रक्रिया पूरा गर्दा गर्दै थाहा भयो आज अर्थात् २०७५ साल कार्तिक २८ गते बिहान ११:२० बजे सम्ममा विभिन्न देशबाट हवाईजहाजमा ४ वटा नेपालीहरूको लास नेपाल आइसकेका रहेछन् । त्यस्तो सत्यता सुन्दा मेरो शरीरका सिरिङ भयो । सबै प्रक्रिया पूरा गरियो लास लिनका निम्ति भित्रै सम्म ४ जना जान पाउने प्रबन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको रहेछ । झोला बोक्ने २ क्यारियरलाई जोडेर त्यसमाथि काठको बाकसमा बन्द गरिएको त्यो लास देख्दा यो मन थाम्न सकिन । बरबर झरिरहेको आशु पुछ्दै बाहिर निस्किए सबै जना त्यो लास हेर्दै हात निधारमा लादै थिए (मन्दिरमा टाढैबाट ढोग गरेजस्तै ) ।

बाहिर निस्किसक्दा सभ बोक्ने गाडी आइ सकेको थिएन । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशबाट ल्याइएको लासलाई उक्त लासको घर परिवारले लान चाहेको ठाउँसम्म निःशुल्क पुर्‍याइदिने प्रावधान सम्म भने गरेको रहेछ । हामी त्यही लास बोक्ने गाडीको प्रतीक्षामा थियौ नजिकै २ जना (एक युवक र वृद्धा) आउनु भयो र रुदै सोध्नुभयो लास लिन के के गर्नु पर्ने रहेछ ? मेरो पनि सानो भाइ साउदीमा बितेर आज लास आउदैछ के गर्ने कसरी लिने केही थाहा छैन । हामीले प्रक्रिया बुझिसकेका थियौ त्यसैले सोध्यौ कति बजेको फ्लाइट थियो आउने कति बजे भनेको थियो ? उहाँले भन्नु भो ४ बजे, लास ल्याइसक्ने समय भएको थिएन तरपनी उहाहरुलाइ प्रक्रिया थाहा नभएको कारणले हामी सँगै भएको एकजनालाई उहाहरुलाइ सबै प्रकिया बुझाइदिन पठायौ ।

दैनिक ५/७ वटा लास नेपाल भित्रिने गरेका तथ्य रहेछन् । नेपाल बस्दैमा नमरिने भनेर भन्न खोजेको होइन तर देश मै राम्रो गर्न सक्ने हो भने दैनिक यस्तो घटना घट्ने क्रम कम हुने थियो होला ।

प्रतिक्रिया