अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

मलेसियाको फेसन विकमा नेपाली डिजाइन

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते २३:११ मा प्रकाशित

मलेसिया, शुक्रवारदेखि मलेसियामा आयोजना भइरहेको “इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” मा नेपालको तर्फबाट भाग लिएका फेसन डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका विभिन्न पोसाकहरू प्रस्तुत गरेका छन् ।

फेशन विकका मलेसियन, तमिल र चाइनिज मोडलहरूले डिजाइनरद्वयले तयार पारेका २० वटा विभिन्न नेपाली र पश्चिमी फ्युजन गरिएका डिजाइनहरू २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । दुवै सिक्वेन्समा मोडलहरूले र्याम्प नापेपछि नेपाली डिजाइनको प्रशस्त तारिफ बह्येको थियो ।

मलेसियाको पेरेक स्टेटको आइपीओएच सहरको होटेल सेरुनमा भव्य रूपमा आयोजित “इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” मा नेपाल फेशन डिजाइनर सङ्घ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा सेन्ट्रल फेशन हब, ललितपुरबाट भर्खरै फेशन डिजाइनिंग कोर्स सकाएका डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले भाग लिने मौका पाएका हुन् ।

फेडेरेसनको तर्फ़बाट अध्यक्ष नवीन लुइँटेल, प्रोमोटर दीपक न्यौपाने र कानुनी सल्लाहकार राजन ढुंगेलको सहभागिता रहेको शुक्रवारको उद्घाटन सोमा नेपालसँगै मलेसिया, सिङ्गापुर, चिन र भारतको डिजाइनरहरूको सहभागिता रहेको थियो । भव्यरुपमा आयोजित कार्यक्रममा मलेसियाका विभिन्न सरकारी प्रतिनिधिहरूसँगै मलेसियाका राजपरिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानको आयोजनामा शुक्रवार नोवेम्बर ९ देखि सुरु भएको ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आगामी नोवेम्बर ११ सम्म आयोजना हुनेछ । समापनको दिन समेत नेपालको तर्फ़बाट डिजाइनहरू प्रस्तुत गरिने जानकारी फेशन फेडेरेसनको अध्यक्ष नवीन लुइँटेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू