अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय भेला तथा बैठक युगान्डाको कम्पालामा आयोजना हुने

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते १२:४८ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने डिसेम्बर २९ – ३० , २०१८ मा पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पाला सहरमा आयोजना हुने भएको छ । यस बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरू र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरूको पनि सहभागिता रहने छ ।

यस क्षेत्रीय बैठकको मूल विषय “विकासका अनुभवहरू एक आपसमा साट्दै” भन्ने रहेको छ । यसै विषयमा केन्द्रित भएर विभिन्न सत्रहरू सञ्चालन हुने छन् । जस अनुरूप अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरूद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुने छ । साथै नेपाली श्रमिकहरूले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परिरहेका समस्याहरू, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभव बारे बैठकमा कार्यपत्रहरू प्रस्तुत र छलफल हुने जानकारी गैरआवासीय नेपाली सङ्घ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिनु भएको छ ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरूको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्ये एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत जानकारी दिनु भएको छ । उक्त बैठक गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् युगान्डाको आतिथ्यमा आयोजना हुने र बैठकको तयारी सुरु भइसकेको जानकारी राष्ट्रिय समन्वय परिषद् युगान्डा अध्यक्ष राजमणि भण्डारीले दिनु भएको छ । बैठकका मूल विषय लगायत अफ्रिकन र नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्य माथि गोष्ठी समेत आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू