काठमाडौँ। देशका प्रमुख पर्यटकीय गन्तव्यका विमानस्थल, होटल, ट्राभल कम्पनी, ट्रेकिङ रुट यतिबेला निकै व्यस्त छन् ।गोरखापत्र दैनिकबाट
आन्तरिक र बाह्य दुवै पर्यटकको बाक्लो चहलपहलले देश पर्यटनमय बनेको छ । घुम्ने फिर्नेको भीडले पर्यटन व्यवसायीको व्यस्तता पनि बढाएको छ । कतिसम्म भने पोखरा, सौराहाजस्ता गन्तव्यहरूमा होटलमा सहजै कोठा पाउनु ‘भाग्य’जस्तै भएको छ । मुस्ताङतर्फको सडकमा साना सवारीको ताँती लागेको छ । त्यहाँ होटलमा कोठा पाउन पनि उत्तिकै ठूलो भाग्यले मात्र काम गर्छ । समग्रमा निकै व्यस्त छ, नेपालको पर्यटन क्षेत्र ।
त्यसो त पर्यटकले घुमघाम गर्ने यो प्रमुख सिजन पनि हो । यसका दुई कारण छन् । यतिबेलै दशैँ, तिहारजस्ता चाडपर्वको बीचमा हुने बिदाले नेपालीलाई घुम्ने बनाएको छ । अर्कोतिर ट्रेकिङ लागि विदेशी पर्यटकका लागि यो उपयुक्त समय पनि हो । न जाडो न गर्मी । मौसमको यस्तै विशेषताले पनि आन्तरिक र विदेशी पर्यटकलाई नेपाल सयर गर्न बाध्य बनाएको छ ।
आन्तरिक पर्यटन यो सिजनको मुख्य विशेषता पनि बनेको छ । देशैभरका प्रमुख पर्यटन गन्तव्यका पर्यटन व्यवसायीका अनुसार घुमफिरमा रहेकामध्ये ६० प्रतिशत नेपाली नै छन् । भूकम्पपछि घुम्नुपर्छ भन्ने सन्देश प्रवाह भएकै कारण पनि आन्तरिक पर्यटनमा ठूलो सुधार देखिएको नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा)का अध्यक्ष सीएन पान्डे बताउनुहुन्छ । ‘यसबीचमा हुने बिदा र नेपालीमा घुमफिरप्रति बढ्दो आकर्षणका कारण आन्तरिक पर्यटन बढेको छ’ उहाँले भन्नुभयो । युवापुस्तादेखि परिवार, सामूहिक घुमघाम र वृद्धवृद्धामा पनि बढ्दो धार्मिक घुमघाम यसको प्रमाण पनि हो ।
दिनमा ५ सयसम्म उडान
काठमाडौँमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र बाह्य दुवै टर्मिनल उत्तिकै व्यस्त छन् । विदेशबाट आउने र नेपालभित्रै घुम्ने पर्यटकका कारण विमानस्थलमा चाप बढिरहेको महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । सामान्य अवस्थामा तीन सय हाराहारीमा यो विमानस्थलबाट उडान हुनेमा दशैँ, तिहारको बीचमा पाँच सयसम्म उडान भएको उहाँले जानकारी दिनुभयो । पछिल्ला दिनमा औसत चार सयसम्म उडान भएको उहाँले बताउनुभयो । अत्यधिक चाप बढेपछि विमानस्थलले लुक्लाको लागि हुने उडान रामेछाप सारेको छ । रामेछापबाट अहिले दैनिक ४० ओटा उडान लुक्लाका लागि भइरहेका छन् । त्यस्तै विमानस्थलको आन्तरिक टर्मिनल पाँच बजे नै खुला गरेपछि ६ बजे नै पहिलो उडान हुन थालेको छ । आन्तरिक उडान राति साढे नौ बजेसम्म सञ्चालन भइरहेको छ ।
होटल भरिभराउ
पर्यटकको चाप बढेपछि देशभरका होटल भरिभराउ छन् । मुख्य गन्तव्यका होटलमा बुकिङबिना कोठा पाउन मुस्किल छ । अहिले देशभरका होटलमा औसत ६५ प्रतिशत ‘अकुपेन्सी’ रहेको होटल सङ्घ नेपाल(हान)ले जनाएको छ । हानका महासचिव विनायक शाहका अनुसार पाँचतारे होटलमा यस्तो अकुपेन्सी ७० प्रतिशतमाथि छ । होटल अकुपेन्सी र सेप्टेम्बरसम्मको पर्यटक आगमनको आधारमा यस वर्ष १२ लाख पर्यटकले नेपाल भ्रमण गर्नसक्ने उहाँको अनुमान छ । देशभर उपलब्ध होटल क्षमताका आधारमा २५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्था रहे पनि अहिले आधाभन्दा कम मात्रै उपयोग भएको उहाँले बताउनुभयो । सेप्टेम्बरसम्म करिब आठ लाख पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्याङ्क छ ।
ट्रेकिङमा उस्तै चाप
विश्वमै चर्चित अन्नपूर्ण र खुम्बु पदमार्गमा यतिबेला पर्यटकको ‘जाम’ नै देख्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा खास गरी दक्षिण कोरिया र चिनियाँ पर्यटकको भीड लागेको छ भने खुम्बु पदमार्गमा युरोपेली पर्यटक धेरै भेटिन्छन् । टेकिङ जाने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहालले बताउनुभयो । उहाँका अनुसार टे«किङमा यसअघिको जस्तो गुणस्तरीय पर्यटक भने भित्रिएका छैनन् । त्यस्तै स्थानीय तहले आफ्नै किसिमले विभिन्न पदमार्गको प्रवेश शुल्क निर्धारण गरिदिएकाले पर्यटकमा नकारात्मक सन्देश प्रवाह भइरहेको उहाँले बताउनुभयो