अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

गुगलको एक्सन– यौन उत्पीडनको आरोप लागेका ४८ कर्मचारी सेवाबाट निष्काशित

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ६:३७ मा प्रकाशित

गुगलले यौन उत्पीडनको आरोप लागेका आफ्ना ४८ जना कर्मचारीहरुलाई सेवाबाट निष्काशन गरेको छ । यसरी निष्काशित हुनेहरुमा १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीहरु रहेका छन् । सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निष्कासन गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय लिईएको वताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार त्यस बेला उनलाई भव्य पार्टी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत पिचईले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा धेरै कष्ट भएको र यसबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तयार रहेको पनि बताएका छन् । उनले यौन उत्पीडनको आरोपबारे अनुसन्धान गरेपछि नै कर्मचारी निष्कासनको फैसला गरिएको जिकिर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू